
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१ शिवनगरस्थित आफ्नै घरबाट उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतले जनाएको छ।

एक युवतीले २०८२ कात्तिकमा बबीविरुद्ध आफूलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि फरार रहेका उनलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो।
पीडित युवतीले बबीलाई पक्राउ गर्न माग गर्दै पटक–पटक प्रहरी कार्यालय धाउनुपरेको र राजनीतिक प्रभावका कारण यसअघि पक्राउ हुन नसकेको आरोप लगाउँदै आएकी थिइन्।
पक्राउ परेका बबीलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





