
जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा २० वर्षीया विवाहित महिला प्रियंका दास मृत फेला परेकी छन्।
स्थानीय विनोद दासकी पत्नी प्रियंका आइतबार साँझ आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनको शव ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

परिवारका आफन्तका अनुसार प्रियंका कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि उनका श्रीमान् विनोदले उनलाई तल झारी ओछ्यानमा राखेका थिए। घटनापछि प्रहरी चौकी कपिलेश्वरको टोली घटनास्थलमा पुगेको थियो।
घटना सार्वजनिक भएपछि स्थानीयवासीले घरबाहिर भेला भएर विरोध जनाएका थिए। उनीहरूले प्रियंकाको मृत्यु शंकास्पद रहेको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै, घटनास्थल पत्रकारलाई समेत अवलोकन गर्न दिनुपर्ने माग गर्दै उनीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान अघि बढाउने काम गरिरहेको छ।
प्रारम्भिक सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डीएसपी खनालले जानकारी दिए। प्रहरीले घटनाको कारण र वास्तविक अवस्था अनुसन्धानपछि स्पष्ट हुने जनाएको छ।





