
विराटनगर । मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकमा शुक्रबार राति करिब साढे १० बजे जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारीका करिब २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही स्थानका २५ वर्षीय सन्देश नेपाली र पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली गम्भीर घाइते भएका थिए।
घाइतेमध्ये कुमार नेपालीको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा मृत्यु भएको प्रहरीले जनाएको छ। सन्देश नेपालीको न्युरो अस्पताल विराटनगरमा उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते अमर नेपालीको भने न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।





