काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सार्वजनिक नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले आग्रह गरेको छ।

परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गर्दै विपद्का बेला बालबालिकाको गोपनीयता, सम्मान र मर्यादा संरक्षण गर्न सबै पक्षलाई सचेत गराएका हुन्।

बाढीपछि प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा प्रदान गरिएका दृश्यहरू सामाजिक सञ्जालमा राख्ने क्रमप्रति परिषद्ले ध्यानाकर्षण गराएको हो। फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, लिङ्क्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका डिजिटल माध्यममा यस्ता सामग्री सार्वजनिक नगर्न परिषद्ले अपिल गरेको छ।

परिषद्का अनुसार विपद्को समयमा बालबालिका थप संवेदनशील अवस्थामा हुने भएकाले उनीहरूको पहिचान, व्यक्तिगत अवस्था र गोपनीयतालाई सार्वजनिक गर्दा दीर्घकालीन असर पर्न सक्ने विषयमा सबै सचेत हुन आवश्यक छ।

पीडित तथा प्रभावित बालबालिकाको फोटो वा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने मात्र नभई त्यस्ता सामग्री सार्वजनिक गर्न वा गराउनसमेत परिषद्ले सबै व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ।

बालबालिकाको गोपनीयता, मर्यादा र अधिकारको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको परिषद्ले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय