जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ।

 

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार आयोजित कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हुन्।

 

मन्त्री महतोका अनुसार प्रहरीको गस्ती तथा सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउन प्रदेशका आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई एक–एक वटा पिकअप जिप उपलब्ध गराइएको हो।

 

सवारीसाधन प्राप्त गर्ने इलाका प्रहरी कार्यालयमा चन्द्रपुर, गरुडा, गोडैता र गडहिया रहेका छन्। बाँकी सवारीसाधन प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा प्रयोग गरिने बताइएको छ।

 

प्रहरीको दैनिक परिचालन, गस्ती तथा आकस्मिक उद्धारलगायतका काममा नयाँ सवारीसाधनले सहयोग पुर्‍याउने प्रदेश सरकारको अपेक्षा छ।

 

सवारीसाधन हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायतको उपस्थिति थियो।

 

प्रदेश सरकारले प्रत्येक पिकअप जिप भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँका दरले खरिद गरेको जनाएको छ। १२ वटा सवारीसाधन खरिदमा मात्रै करिब ४ करोड ६८ लाख ६० हजार रुपैयाँ खर्च भएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय