पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आत्महत्या न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा महानगरपालिका–३, नदीपुरस्थित कन्या क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी २०८३ भदौ ५ गते कार्यक्रम आयोजना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली, पश्चिम क्षेत्रीय अस्पताल पोखराका मनोचिकित्सक डा. राजन शर्मा लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यार्थीलाई आत्महत्या न्यूनीकरण, मनोपरामर्श, उपचार तथा आत्महत्या रोकथाममा साथीभाइ र परिवारको भूमिकाबारे प्रशिक्षण दिइएको थियो।

प्रहरी उपरीक्षक कार्कीले कास्की जिल्लामा पछिल्ला तीन वर्षको आत्महत्याको अवस्था, आत्महत्याको प्रयास तथा प्रहरीले गरेका उद्धारसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।

त्यस्तै, मनोचिकित्सक डा. राजन शर्माले मनोपरामर्श तथा उपचारका विषयमा प्रशिक्षण दिएका थिए। प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाले आत्महत्याको जोखिममा रहेका व्यक्तिले देखाउन सक्ने लक्षण तथा त्यस्ता अवस्थामा साथीभाइ र परिवारले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए।

कार्यक्रमले विद्यार्थीमा आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य तथा जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान गरी आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय