
काठमाडौं । तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन गरिएको व्यापार तथा सांस्कृतिक महोत्सवमा प्रहरीले कडा हस्तक्षेप गरेको छ। रातको समयमा शान्ति सुरक्षामा चुनौती बन्ने अवस्था देखिएपछि जिल्ला प्रहरी कार्यालय बाराकी डीएसपी शुभद्रा वाइबा आफैं स्टेजमा पुगेर कार्यक्रम रोकिदिएकी छन्।
प्रशासनले दिउँसो १० बजेदेखि साँझ ६ बजेसम्म मात्र महोत्सव सञ्चालनको अनुमति दिएको थियो। तर आयोजकले अटेरी गर्दै राति ९ बजेसम्म टिकट बिक्री र सांस्कृतिक कार्यक्रम जारी राखेका थिए। यही अटेरका कारण शनिबार राति भोजपुरी गायक सुनील पण्डितको प्रस्तुति चलिरहेकै बेला डीएसपी वाइबा स्टेजमा पुगिन् र माइक नियन्त्रणमा लिँदै माइकको लाइन नै काटिदिइन्।

उनले स्पष्ट रूपमा भनिन्, “अनुमति लिएको समय पार गरेर टिकट बिक्री र कार्यक्रम भइरहेकाले रोक्नु पर्यो। भिडभाड र झगडाको सम्भावना बढेकाले प्रहरी हस्तक्षेप गर्न बाध्य भयो।”
आयोजकले साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालनको लागि थप अनुमति मागेको भए पनि त्यो समयसमेत पार गरिएपछि प्रहरीले कडाइ गरेको हो।
डीएसपी वाइबाको यो तत्पर र साहसी कदमले शान्ति सुरक्षा कायम गर्न कति गम्भीर छन् भन्ने देखाएको छ। स्थानीयबासी, सामाजिक अभियन्ता र सुरक्षाकर्मीहरूले उनको कार्यशैलीको प्रशंसा गरेका छन्।
उक्त घटनाले जनताको सुरक्षामा कुनै सम्झौता नहुने सन्देश दिएको छ भने, कानुनी मर्यादा उल्लङ्घन गर्नेहरूलाई सजग गराएको छ।
डीएसपी शुभद्रा वाइबाको यो दृढ हस्तक्षेप सुरक्षा संयन्त्रप्रतिको जनविश्वासको मजबुत आधार बनेको छ।