काठमाडौं । नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले न्यून सेवा–सुविधा, बढुवामा ढिलाइ तथा अनुकूल सरुवा नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रहरी प्रधान कार्यालयले आधारभूत तहका कर्मचारीका समस्या र गुनासा सम्बोधन गर्ने उद्देश्यले स्थापना गरेको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमा पहिलो दिनमै करिब तीन सय कर्मचारीले आफ्ना समस्या दर्ता गराएका छन्।

डेस्कमा दर्ता भएका गुनासामध्ये लामो समयसम्म ड्युटीमा खटिनुपर्ने, बिदा पाउन कठिन हुने, सरुवा तथा बढुवामा पारदर्शिताको अभाव र परिवारको जीविकोपार्जन गर्नसमेत कठिन हुने गरी न्यून सेवा–सुविधा रहेको विषय प्रमुख रूपमा उठेका छन्।

कतिपय कर्मचारीले विद्यमान सेवा–सुविधा वृद्धि गर्न नसकिए कम्तीमा १६ वर्ष सेवा पूरा गरेपछि पेन्सन पाउने व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी संगठनका मुख्य स्तम्भ भएको उल्लेख गर्दै उनीहरूका समस्या सुन्न र शीघ्र सम्बोधन गर्न गुनासो व्यवस्थापन डेस्क स्थापना गरिएको बताएका छन्।

प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार डेस्कले व्यक्तिगत गुनासो सम्बोधन गर्नुका साथै संगठनभित्र बारम्बार दोहोरिने समस्या र प्रशासनिक कमजोरी पहिचान गर्नसमेत सहयोग पुर्‍याउनेछ।

यसअघि २०७७ सालमा गरिएको प्रहरी सर्वेक्षणमा पनि अधिकांश कर्मचारीले लामो समयसम्म ड्युटीमा खटिनुपर्ने र पर्याप्त बिदा नपाउने समस्या औँल्याएका थिए। त्यसपछि वर्षमा पाउने ४२ दिन बिदा अनिवार्य रूपमा उपलब्ध गराउन सर्कुलर जारी गरिएको थियो।

तर, बिदासम्बन्धी व्यवस्था कार्यान्वयनका प्रयास भए पनि सेवा–सुविधा, कार्यबोझ, सरुवा तथा बढुवासम्बन्धी असन्तुष्टि अझै कायम रहेको प्रहरी अधिकारीहरू बताउँछन्। पहिलो दिनमै ठूलो संख्यामा गुनासा दर्ता हुनुले प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीका समस्या सुन्ने मात्र नभई तिनको व्यावहारिक समाधान खोज्नुपर्ने आवश्यकता पनि उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय