
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक दिपक कुँवर २०८३ साल कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले कुँवरलाई कात्तिक महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ का रूपमा छनोट गरेको हो।

प्रहरी संगठनले निर्धारण गरेको नीति तथा निर्देशनअनुसार सुम्पिएको जिम्मेवारी व्यावसायिक क्षमता, उच्च लगनशीलता, कर्तव्यनिष्ठा र इमानदारीका साथ कुशलतापूर्वक निर्वाह गर्दै अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनको कार्यसम्पादनबाट आम नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि हुनुका साथै नेपाल प्रहरी संगठनको छवि र गरिमा उच्च बनाउन योगदान पुगेको भन्दै उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीद्वारा २०८३ मंसिर १ गते जारी गरिएको सम्मानसम्बन्धी पत्रमार्फत कुँवरलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ





