काठमाडौं । लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरोले उनीहरूको साथबाट ५० ग्राम ९२० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले मंसिर ३ गते सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट ८ ग्राम ६५० मिलिग्राम खैरो हेरोइनसहित उदित नारायण चौधरीलाई पक्राउ गरेको थियो।

उनलाई पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न अन्य तीन जनाको पहिचान खुलेपछि प्रहरीले मंसिर ४ गते सुनसरीको कोशी गाउँपालिका–१, लौकहीबाट थप ४२ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ३४ वर्षीय उदित नारायण चौधरी तथा भारतको बिहार राज्य, अररिया जिल्ला, बस्मतिया थाना, बिलाहा–८ का २५ वर्षीय सन्तोष शर्मा, २० वर्षीय पंकज कुमार खत्चे र २० वर्षीय महेश कुमार शर्मा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ५० ग्राम ९२० मिलिग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेट BR-50 T2 2494 भएको एउटा मोटरसाइकल र चार थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका चारै जनालाई बरामद लागूऔषध तथा अन्य सामानसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय