
धनुषा । दशैंको मुखमा तलब–भत्ता नपाएपछि धनुषाको बिदेह नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी समस्यामा परेका छन्। पारिश्रमिक नपाएको भन्दै जनप्रतिनिधिले नगरपालिकाको कार्यालयमा ताल्चा लगाएर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र र चाबी बुझाउनुपर्ने अवस्था आएको छ।
नगरपालिकाका प्राविधिक इन्जिनियर धर्मेन्द्रकुमार गोइतले जनप्रतिनिधि तथा कर्मचारीले समयमै पारिश्रमिक नपाउनु दुःखद भएको बताएका छन्। उनले यस समस्याले कर्मचारी र जनप्रतिनिधिलाई मात्र नभई नगरपालिकाबाट सेवा लिने सर्वसाधारणलाई समेत असर पार्न सक्ने बताएका छन्।

उनका अनुसार लामो समयसम्म पारिश्रमिक नपाउँदा कर्मचारीलाई दैनिक घरखर्च व्यवस्थापनमा कठिनाइ हुनुका साथै नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणका कामसमेत प्रभावित हुन सक्छन्।
गोइतले नगरपालिकाको प्रशासनिक व्यवस्थापन प्रभावकारी बनाउन सक्षम, अनुभवी, इमानदार तथा जनमुखी प्रमुख प्रशासकीय अधिकृतको आवश्यकता औँल्याएका छन्। कर्मचारीका समस्या बुझ्ने, जनप्रतिनिधिसँग समन्वय गर्ने र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
उनले नगरपालिकामा सुशासन कायम गर्न, कर्मचारी तथा जनप्रतिनिधिले समयमै पारिश्रमिक पाउने व्यवस्था मिलाउन र विकास निर्माणका कामलाई निरन्तरता दिन सम्बन्धित पक्षले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्।
नगरपालिकामा देखिएको समस्या शीघ्र समाधान गरी प्रशासनिक कामकाज नियमित बनाउनुका साथै नागरिकले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने गोइतले बताएका छन्।





