
काठमाडौं । प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको बैठक सुरु भएको छ।
उपसमितिको बैठकमा प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा छलफल भइरहेको छ। अध्ययनका लागि नेपाल प्रहरीले पोसाक खरिदसँग सम्बन्धित कागजातहरूको एक पोका उपसमितिलाई पठाएको छ।

प्राप्त कागजातका आधारमा खरिद प्रक्रिया, लागत, ठेक्का प्रक्रिया तथा पोसाकको गुणस्तरलगायतका विषयमा अध्ययन अघि बढाउने तयारी छ। आजको बैठकले उपसमितिको अध्ययन कार्यविधि तय गर्ने जनाइएको छ।
बैठकमा नेपाल प्रहरीले अध्ययनका लागि आवश्यक कागजात उपलब्ध गराएको जानकारीसमेत गराइएको छ। उपसमितिले प्राप्त कागजात अध्ययन गरी सम्बन्धित निकाय तथा पदाधिकारीसँग आवश्यक जानकारी लिने तयारी गरेको छ।
प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो।
उपसमितिलाई प्रहरीको पोसाक खरिद प्रक्रियासँग सम्बन्धित विषयको अध्ययन गरी आवश्यक निष्कर्षसहित समितिमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।





