काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध तथा नियमित सम्पर्कमा रहेका भनिएका विभिन्न व्यक्ति तथा व्यवसायीमाथि अनुसन्धान तीव्र पारिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा प्रहरीको टोलीले जबरासँग सम्पर्कमा रहेका भनिएका केही व्यक्तिका घर तथा अन्य स्थानमा छापा मारेर प्रमाण संकलन गरिरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार जबराका पारिवारिक सदस्यका साथै नवीन बस्नेत, दीपक तिमल्सिना र नारायण दाहाललगायतका व्यक्तिसँग सम्बन्धित स्थानमा अनुसन्धान केन्द्रित गरिएको छ। ती स्थानबाट आर्थिक कारोबारसँग सम्बन्धित कागजात, मोबाइल तथा डिजिटल उपकरण, सम्पर्क विवरण र अन्य सम्भावित प्रमाण खोज्ने काम भइरहेको बताइएको छ।

अनुसन्धानका क्रममा जबराको मोबाइल तथा सञ्चार सम्पर्कलाई समेत महत्वपूर्ण आधार बनाइएको स्रोतको दाबी छ। जबरासँग नियमित फोन सम्पर्कमा रहेका केही कानून व्यवसायी, व्यवसायी तथा अन्य व्यक्तिमाथि समेत निगरानी बढाइएको बताइएको छ।

स्रोतका अनुसार अनुसन्धान टोली दिउँसो अचानक सम्बन्धित व्यक्तिका घरमा पुग्दा कतिपय स्थानमा परिवारका महिला तथा ज्येष्ठ नागरिक सदस्य मात्रै भेटिएका थिए। केही घरमा भने ताला लागेको पाइएको बताइएको छ। टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित स्थानबाट आवश्यक विवरण तथा प्रमाण संकलन गरिरहेको जनाइएको छ।

इनाम सापकोटा पक्राउपछि अनुसन्धान थप फराकिलो

यसैबीच पूर्वप्रधानन्यायाधीश जबरा, व्यवसायी दीपक भट्ट र इनाम सापकोटाबीचको सम्पर्क तथा सम्बन्धबारे समेत अनुसन्धान भइरहेको छ। जबरा र जेलमा रहेका व्यवसायी दीपक भट्टसँग सम्पर्क तथा कनेक्सन देखिएको दाबीपछि इनाम सापकोटालाई पक्राउ गरिएको स्रोतको भनाइ छ।

सापकोटामाथि अनुसन्धान अघि बढ्दै गर्दा उनको सम्पर्कमा रहेका व्यक्तिहरू, फोन संवाद तथा भेटघाटका विषयसमेत अनुसन्धानको दायरामा ल्याइएको बताइएको छ।

यही क्रममा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालसमेत अनुसन्धानको दायरामा परेका छन्। संवेदनशील सूचना चुहाएको आरोपमा उनलाई निलम्बन गरी छानबिन अघि बढाइएको स्रोतले जनाएको छ।

जबरालाई नियन्त्रणमा लिइएको घटनापछि एआईजी दाहालको समेत गतिविधि र जबरासँगको सम्पर्कबारे अनुसन्धान गरिएको बताइएको छ। यद्यपि कसैसँग सम्पर्क वा भेटघाट भएको मात्र आधारमा आपराधिक गतिविधि प्रमाणित नहुने भएकाले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्रै निष्कर्ष निकालिनेछ।

मध्यराति जबरालाई प्रहरी कार्यालय लगिएपछि बढ्यो अनुसन्धान

यस प्रकरणमा पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति निवासबाट प्रहरी कार्यालय लगिएको घटनाले समेत चर्चा पाएको थियो।

सरकारको सुरक्षा संयन्त्रसँग सम्बन्धित टोली राति जबराको निवासमा पुगेपछि उनलाई टेकुस्थित प्रहरी कार्यालय लगिएको थियो। केही समय प्रहरी कार्यालयमा राखिएपछि उनलाई परिवारको जिम्मा लगाइएको थियो।

प्रहरीले भने जबरालाई पक्राउ गरिएको नभई सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा राखिएको दाबी गरेको थियो। तर उनलाई मध्यराति नै प्रहरी कार्यालय लैजानुपर्ने अवस्थाको कारण र सुरक्षा जोखिमको प्रकृतिबारे भने विभिन्न प्रश्न उठेका छन्।

त्यस घटनापछि जबरासँग सम्पर्कमा रहेका व्यक्तिहरूको विवरण, उनीहरूको आर्थिक तथा व्यावसायिक सम्बन्ध र सञ्चार सम्पर्कबारे अनुसन्धान अघि बढाइएको स्रोतको दाबी छ।

फोन सम्पर्कदेखि आर्थिक कारोबारसम्म अनुसन्धान

अनुसन्धानको मुख्य केन्द्रमा जबरासँग सम्पर्कमा रहेका व्यक्तिहरूको मोबाइल तथा डिजिटल संवाद, आर्थिक कारोबार, सम्पत्तिको स्रोत, व्यवसायिक सम्बन्ध र सम्भावित बिचौलियाको भूमिकालाई राखिएको बताइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको संलग्नताले आर्थिक कारोबार तथा सम्पत्तिको स्रोतसम्बन्धी पक्षसमेत अनुसन्धानको दायरामा रहेको देखिएको छ।

अनुसन्धानका क्रममा जबराका पारिवारिक सदस्यदेखि व्यवसायी, कानून व्यवसायी, बिचौलिया तथा सुरक्षा निकायका केही अधिकारीसम्मको सम्पर्क र सम्बन्ध परीक्षण भइरहेको स्रोतको दाबी छ।

अब अनुसन्धानले जबरासँग को–को नियमित सम्पर्कमा थिए, ती सम्पर्कको उद्देश्य के थियो, आर्थिक कारोबार भएको भए त्यसको स्रोत र गन्तव्य कहाँ थियो तथा संवेदनशील सूचना आदानप्रदान भएको थियो वा थिएन भन्ने विषयमा केन्द्रित हुने देखिएको छ।

अनुसन्धान टोलीले विभिन्न स्थानबाट संकलन गर्ने मोबाइल, डिजिटल संवाद, आर्थिक कारोबारका कागजात तथा अन्य प्रमाणका आधारमा थप व्यक्तिमाथि समेत अनुसन्धान अघि बढाउन सक्ने स्रोतले जनाएको छ।

तर अनुसन्धानको दायरामा आएका व्यक्ति वा उनीहरूको घरमा छापा परेको मात्र आधारमा उनीहरू कुनै कसुरमा संलग्न रहेको निष्कर्ष निकाल्न मिल्दैन। अनुसन्धानबाट प्राप्त प्रमाण र कानुनी प्रक्रियापछि मात्रै सम्बन्धित व्यक्तिको संलग्नता वा निर्दोषिताबारे अन्तिम निष्कर्ष निस्कनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय