धनगढी । बहुविवाह मुद्दामा निलम्बित प्रहरी सहायक हवल्दार देवबहादुर मौनी र उनकी प्रेमिका इन्द्रादेवी बोहरा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कैलाली जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले मौनी र बोहरालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत मौनीकी श्रीमतीले बहुविवाहसम्बन्धी जाहेरी दिएपछि प्रहरीले मौनी र बोहरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अदालतको आदेशपछि दुवैलाई पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार मौनी गत माघदेखि श्रीमती र दुई छोरासँग सम्पर्कविहीन थिए। बोहरासँगको प्रेम सम्बन्धका विषयमा श्रीमतीसँग विवाद भएपछि उनी घरबाट अलग भएको खुलेको छ।

मौनीको खोजी गर्ने क्रममा उनी भारतको बैङ्लोरमा रहेको खुलेपछि नेपाल फर्किएका थिए। नेपाल आएपछि उनी आफैं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानकै क्रममा उनकी श्रीमतीले मौनी र बोहराविरुद्ध बहुविवाहसम्बन्धी जाहेरी दिएकी थिइन्।

मौनीका श्रीमतीतर्फ २७ महिना र ९ वर्ष उमेरका दुई छोरा रहेको बताइएको छ। श्रीमती र छोराहरूलाई छाडेर लामो समय सम्पर्कविहीन भएपछि उनीविरुद्ध बहुविवाहको कसुरमा जाहेरी परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय