
काठमाडौं । भोटेकोशी बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीका कर्मचारीका परिवारले विभिन्न कोष, बीमा तथा संगठनबाट गरी २५ लाख १० हजार रुपैयाँसम्म राहत तथा सुविधा पाउने भएका छन्।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रतिबद्धताअनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई नियमानुसार उपलब्ध हुने राहत तथा बीमा सुविधाको प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कल्याण कोषबाट ३ लाख रुपैयाँ राहत र ४० हजार रुपैयाँ किरिया खर्च उपलब्ध हुनेछ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट ५ लाख रुपैयाँ दुर्घटना बीमा तथा राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ सावधिक जीवन बीमाबापतको रकम प्राप्त हुनेछ।
नेपाल प्रहरी संगठनबाट विशेष राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराइनेछ। त्यसैगरी, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत २ लाख रुपैयाँ र किरिया खर्चबापत ४० हजार रुपैयाँ उपलब्ध हुने व्यवस्था छ।
नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित सर्तअनुसार दुर्घटना बीमाबापत २ लाख रुपैयाँ तथा किरिया खर्चबापत ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यसरी विभिन्न कोष, बीमा तथा राहत सुविधासहित मृतक प्रहरी कर्मचारीका निकटतम हकवाला परिवारले कुल २५ लाख १० हजार रुपैयाँसम्म प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ।
परिवारको जीविकोपार्जन र शिक्षामा सहयोग गर्ने आईजीपीको प्रतिबद्धता
आईजीपी दानबहादुर कार्कीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नुका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउने बताएका छन्।
त्यस्तै, नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋणका सम्बन्धमा आवश्यकताअनुसार सहुलियत तथा मिनाहाको व्यवस्था गरिने प्रतिबद्धता पनि आईजीपी कार्कीले व्यक्त गरेका छन्।
नेपाल प्रहरीले मृतक प्रहरी कर्मचारीका निकटतम हकवाला परिवारलाई उल्लेखित सुविधा नियमानुसार शीघ्र उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।




