
गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारबाट प्रहरीले नक्कली चुरोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
नक्कली चुरोटको अवैध बिक्री-वितरण भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा खटिएको टोलीले लु.प्र.०१–००१ च ४६३० नम्बरको भ्यान जाँच गर्दा सो चुरोट बरामद गरेको हो।

भ्यान खानतलासी गर्दा ‘खुकुरी’ ब्रान्डजस्तो देखिने १४० बट्टा नक्कली चुरोट फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीले भ्यानसहित चालक प्युठानको झिमरुक गाउँपालिका–३ निवासी ४० वर्षीय गोपाल परियारलाई नियन्त्रणमा लिएको छ।
बरामद नक्कली चुरोट, भ्यान र पक्राउ परेका चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र विश्वकर्माले जानकारी दिए।




