
सिरहा, २५ भदौ । सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित एक सवारी चालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
बुधबार राति लहान नगरपालिका–३ ठाडी चोकबाट इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल सुरक्षा बेसको संयुक्त टोलीले लहानतर्फ आउँदै गरेको स.१ च १४१४ नम्बरको स्कार्पियो गाडी जाँच गर्दा प्रतिबन्धित १ सय २३ बोतल (प्रतिबोतल १०० एमएल) ‘कोर्कफ सी’ बरामद गरेको छ।

लागूऔषध ओसारपसारमा संलग्न स्कार्पियो चालक लहान–१० का ४१ वर्षीय विजय कुमार बिसुन्केलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानमा राखेर अनुसन्धान भइरहेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
यसैगरी, मिचैया नगरपालिका–१२ सिक्रोन नहर क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्यूरो गोलबजारको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको छ।
शंकास्पद अवस्थामा फेला परेका स्थानीय २४ वर्षीय दिपक सहनीको पाइन्टको खल्तीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५६० मिलिग्राम, चार थान मोबाइल र नगद २ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न सहनीसहित सोही ठाउँका २० वर्षीय सुनिल कापर, २५ वर्षीय सरोज कापर र २२ वर्षीय पप्पु कापरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी थप अनुसन्धान भइरहेको छ।




