रौतहट। रौतहटका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मीप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन्। पौडेलले बुधबार साँझ ५ बजे जिल्ला प्रशासन कार्यालय रौतहटमा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणका क्रममा सहायक सिडिओ हेमराज फुयाँलसहित जिल्ला प्रशासनका कर्मचारी, कर्मचारी मिलन केन्द्रका पदाधिकारी तथा जिल्लास्थित सुरक्षा अधिकारीहरूले नयाँ सिडिओ पौडेललाई स्वागत गरेका थिए।

गृह मन्त्रालयले भदौ १८ गते २३ जना सहसचिव तथा उपसचिवहरूको सरुवा गर्दा पर्वतमा कार्यरत पौडेललाई रौतहट पठाएको हो। यसअघि रौतहटका सिडिओ रहेका दिनेश सागर भुसालको गृह मन्त्रालय, सिंहदरबार सरुवा भएको छ।

नयाँ सिडिओ पौडेलका अगाडि जिल्लाको शान्ति–सुरक्षा, सुशासन, प्रभावकारी सेवा प्रवाह र प्रशासनिक व्यवस्थापन प्रमुख चुनौतीका रूपमा रहेका छन्।

सामाजिक तथा धार्मिक रूपमा संवेदनशील मानिने रौतहटमा सम्भावित विवाद तथा तनावलाई समयमै पहिचान गरी समाधान गर्न राजनीतिक दल, स्थानीय तह, नागरिक समाज र सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने देखिन्छ। यस्तै सीमावर्ती जिल्ला भएकाले सीमा अपराध, तस्करी, लागूऔषध नियन्त्रण तथा आपराधिक गतिविधि न्यूनीकरण गर्नु पनि उनको प्राथमिकतामा पर्नेछ।

विगतमा सुरु गरिएका समन्वय, संवाद र सामाजिक सद्भावका अभ्यासलाई निरन्तरता दिँदै नागरिकमैत्री र छिटोछरितो सेवा प्रवाह गराउनु, विकास निर्माणका प्रशासनिक उल्झन सुल्झाउनु र सुशासन कायम गर्नु पौडेलको कार्यकालको मुख्य परीक्षण हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय