नुवाकोट । नुवाकोटस्थित केन्द्रीय कारागारमा सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुगेर कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिरहेको छ।

कारागारमा सञ्चालन भइरहेको स्वास्थ्य सेवा अभियानको दोस्रो दिन एपीएफका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ४०० भन्दा बढी कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार, औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरेका छन्।

विभिन्न स्वास्थ्य समस्या लिएर आएका कैदीबन्दीको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यकताअनुसार उपचार तथा औषधिको व्यवस्था गरिएको छ। विशेषज्ञ चिकित्सकसहितको टोली कारागारमै पुगेर सेवा प्रदान गर्दा कैदीबन्दीलाई उपचारका लागि बाहिर लैजानुपर्ने अवस्था समेत कम भएको छ।

स्वास्थ्य सेवा लिएपछि कैदीबन्दीहरूले एपीएफका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। कारागारभित्रै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा उपचारको अवसर पाउँदा आफूहरूलाई निकै सहज भएको उनीहरूको भनाइ छ।

कारागारका प्रमुख जेलर तथा उपसचिव भेषबहादुर कुँवरको विशेष अनुरोधमा एपीएफ अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको टोली एपीएफका डाक्टर डीएसपी आषिश थापाको कमाण्डमा ५ जना अन्य डाक्टर सहित १० जनाको टोलिले केन्द्रीय कारागारमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको कारागार सुरक्षाका ईन्चार्ज ईन्स्पेक्टर पप्पु यादवले जानकारी दिनु भयो । 

सशस्त्र प्रहरी बललाई आम रूपमा सुरक्षा, विपद् व्यवस्थापन, खोज तथा उद्धार र आपत्कालीन उद्धार कार्यसँग जोडेर हेर्ने गरिन्छ। तर, एपीएफले सुरक्षा र उद्धारसँगै स्वास्थ्य सेवाका क्षेत्रमा समेत आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको छ।

विशेषगरी विपद्का समयमा घाइते तथा बिरामीको उद्धार र उपचारमा खटिने एपीएफका स्वास्थ्यकर्मीले आवश्यकता अनुसार विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा उपचार सेवा सञ्चालन गर्दै आएका छन्। यही मानवीय सेवाको निरन्तरताका रूपमा केन्द्रीय कारागारमा रहेका कैदीबन्दीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको हो।

कारागारमा रहेका व्यक्तिहरू पनि राज्यका नागरिक भएकाले उनीहरूको स्वास्थ्य अधिकार तथा आधारभूत उपचार सेवामा पहुँच सुनिश्चित गर्नु आवश्यक हुन्छ। यही आवश्यकतालाई ध्यानमा राखेर कारागारमै विशेषज्ञ चिकित्सकसहितको टोली पुगेर स्वास्थ्य परीक्षण तथा उपचार गर्नु सकारात्मक पहलका रूपमा लिइएको छ।

अभियानका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यसम्बन्धी आवश्यक सुझाव र परामर्शसमेत दिएका छन्। थप उपचार आवश्यक पर्ने देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस वा सुझाव दिइने जनाइएको छ।

खोज, उद्धार र सुरक्षा कार्यमा मात्र सीमित नभई मानवीय सेवामा समेत सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने सन्देश एपीएफको यस अभियानले दिएको छ। सुरक्षा प्रदान गर्नुका साथै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवा विस्तार गर्दै एपीएफले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको देखिन्छ।

साथै,

त्रिशूली नदीमा आएको भीषण बाढीका बेला नुवाकोट केन्द्रीय कारागारका इन्स्पेक्टर पप्पू यादवको नेतृत्वमा सुरक्षाकर्मीले समयमै उच्च सतर्कता अपनाउँदै ९२३ कैदीबन्दीलाई सुरक्षित राख्न सफल भएका थिए। बाढीको चेतावनी पाएलगत्तै ५०५ कैदीलाई सुरक्षित स्थानमा सारिएको थियो। बाढीका कारण कारागारमा क्षति पुगेपछि केही कैदी भाग्न खोज्दा हवाई फायर गरी स्थिति नियन्त्रणमा लिइएको थियो। प्रहरी र सशस्त्र प्रहरीको संयुक्त तत्परताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय