
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा आर्मी–पुलिसले राहत सामग्री आफैंले लिएको, वितरण नगरेको तथा सडिगले गएको भन्ने आशयका भ्रमपूर्ण तथा तथ्यहीन सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरीका अनुसार विपद्का क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षाकर्मीहरू नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका कार्यमा निरन्तर खटिरहेका छन्।
नेपाल प्रहरीले आफ्नो कार्यालयमा कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पारेको छ। विपद्को संवेदनशील अवस्थामा सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पार्ने र नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने गरी कपोलकल्पित आरोप तथा अफवाह फैलाउनु गैरजिम्मेवार कार्य भएको प्रहरीको भनाइ छ।
प्रहरीले विपद्को समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सुरक्षाकर्मीहरू प्रतिबद्ध रहेको जनाएको छ।
साथै, अपुष्ट सूचना तथा अफवाहका आधारमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने वा नागरिकमा भ्रम सिर्जना गर्ने सामग्री प्रचार–प्रसार नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रेस विज्ञप्ति प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले जारी गरेका हुन्।




