
विराटनगर — सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोका आधारमा मोरङ प्रहरीले विराटनगरमा दुई युवकलाई नियन्त्रणमा लिएको छ। तर, घटनामा प्रत्यक्ष जोडिएका युवतीहरूले भने आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको बताएका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय महेशकुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेशकुमार प्रसाद रहेका छन्। उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

विराटनगर–९ स्थित महेन्द्रचोकमा मोटरसाइकलमा सवार ती दुई युवकले स्कुल ड्रेसमा हिँडिरहेका दुई युवतीलाई लक्षित गरी अभद्र व्यवहार गरेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही भिडियोको आधारमा प्रहरीले उनीहरूको पहिचान गरी नियन्त्रणमा लिएको हो।
यद्यपि, प्रहरी कारबाहीपछि घटनाले नयाँ मोड लिएको छ। भिडियोमा देखिएका युवतीहरूले जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार मोटरसाइकलमा आएका व्यक्तिहरूले जेब्राक्रसिङतर्फ मात्र इशारा गरेका थिए र त्यसपछि दुवै पक्ष आ-आफ्नो बाटो लागेका थिए। भिडियो भाइरल भएपछि मात्रै आफूहरू उक्त घटनामा जोडिएको थाहा पाएको उनीहरूको भनाइ छ।
मोरङ प्रहरीका सूचना अधिकारी तथा डीएसपी मकेन्द्रकुमार मिश्रले सार्वजनिक स्थलमा युवतीहरूलाई लक्षित गरी गरिएको व्यवहारको नियत अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरी संवेदनशील बनेर पक्राउ गरिएको बताए। अनुसन्धानका क्रममा गल्ती नदेखिए कानुनअनुसार छाडिने प्रहरीले जनाएको छ।
यसैबीच, उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा दुईथरी बहस सुरु भएको छ। एक थरीले महिला सुरक्षाका लागि प्रहरीको तत्कालको सक्रियतालाई स्वागत गरेका छन् भने अर्का थरीले केही सेकेन्डको भिडियोकै आधारमा कसैको नियतमाथि प्रश्न उठाउनु र पक्राउ गर्नु हतारको निर्णय भएको टिप्पणी गरेका छन्।
प्रहरीले भिडियो, घटनास्थलको प्रकृति, दुवै पक्षको बयान र अन्य प्रमाणका आधारमा घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।




