
काठमाण्डौं।त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका सामानहरू सुरक्षित राखी सम्बन्धित धनीलाई फिर्ता गर्न जिल्ला प्रहरी कार्यालय धादिङले माइकिङमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ।
बाढीपछि नदी किनार तथा आसपासका क्षेत्रमा विभिन्न सामानहरू भेटिन थालेपछि प्रहरीले त्यस्ता वस्तु आफूखुसी प्रयोग, बिक्री वा अन्य प्रयोजनमा नलगाउन सचेत गराएको हो। बाढीले बगाएका सामान कसैले भेट्टाएमा वा कसैको घर-पसलमा फेला परेमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ। भेटिएका सामानको वास्तविक धनी पहिचान गरी कानुनी प्रक्रियाअनुसार फिर्ता गरिनेछ।

धादिङ प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार भेटिएका सामान फिर्ता नगरी आफैंले राखेको वा प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिनेछ।




