काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको बाढी लगायत हालैका प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनाबाट प्रभावित बालबालिकाको तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान तथा मनोवैज्ञानिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने जनाएको हो।

प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकाको तस्बिर तथा भिडियो प्रकाशन–प्रसारण गर्दा विशेष संवेदनशीलता अपनाउन सञ्चारमाध्यम, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ।

त्यस्तै, बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार वा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्न र आवश्यक अवस्थामा पहिचान लुकाउन पनि प्रहरीले अनुरोध गरेको छ।

बालबालिकाको असहाय वा रोइरहेको अवस्थालाई देखाएर सामग्री भाइरल गर्ने, सहानुभूति वा आर्थिक सहयोग जुटाउने नाममा उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न पनि प्रहरीले भनेको छ।

मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक–पटक अन्तर्वार्ता लिने, घटना सम्झन बाध्य पार्ने वा पीडाको पुनःप्रदर्शन हुने किसिमका सामग्री तयार नगर्न प्रहरीको आग्रह छ।

त्यसैगरी, अनुमति र संवेदनशीलताविना बालबालिकाको पहिचान खुल्ने तस्बिर, भिडियो वा डिजिटल सामग्री पुनःप्रसारण, सम्पादन, मीम वा अन्य स्वरूपमा प्रयोग नगर्न तथा सामाजिक सञ्जालमा प्राप्त सामग्रीको सत्यता र संवेदनशीलता नबुझी शेयर, रिपोस्ट वा फर्वार्ड नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

विपद्का समयमा फोटो तथा भिडियो खिच्नुभन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणलाई प्राथमिकता दिनुपर्ने प्रहरीको भनाइ छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा प्रचलित कानुन, पत्रकार आचारसंहिता तथा बालमैत्री सञ्चार निर्देशिका, २०७३ को पालना गर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गरिएको छ।

प्रहरीले विज्ञप्तिको अन्त्यमा भनेको छ, “बालबालिकाको पीडालाई प्रचारको होइन, संरक्षण र सहयोगको विषय बनाऔं।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय