
रौतहट, १८ भदौ । रौतहटको ईशनाथ नगरपालिका–३, औरैयास्थित एक घरमा भण्डारण गरी राखिएको करिब ३५ लाख रुपैयाँ बराबरको अवैध सुर्ती तथा कस्मेटिक सामग्री बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वार्टर रौतहट, भन्सार कार्यालय तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले बिहीबार घरमा छापा मारेर उक्त सामग्री बरामद गरेको हो।

अवैध रूपमा चोरी–निकासी गरी सामान भण्डारण गरिएको सूचनाका आधारमा संयुक्त टोलीले घरमा खानतलासी गरेको जनाइएको छ। त्यसक्रममा ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ तथा विभिन्न प्रकारका कस्मेटिक सामग्री फेला परेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सीमा क्षेत्रमा हुने चोरी–निकासी तथा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरी, भन्सार कार्यालय तथा अन्य सुरक्षा निकायले संयुक्त निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएका छन्।




