काभ्रे । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बाढीपहिरो प्रभावित परिवारको राहतका लागि आफ्नो व्यक्तिगत तलबबाट २० लाख रुपैयाँ सहयोग गरेका छन्।

निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता स्मरण गर्दै मेयर खरेलले १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने वाचा गरेको बताएका छन्। देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण नागरिकले घर, सम्पत्ति तथा आफन्त गुमाइरहेको अवस्थामा आफूले गरेको उक्त वाचा कार्यान्वयनलाई निरन्तरता दिएको उनको भनाइ छ।

खरेलले बाढीपहिरो प्रभावित क्षेत्र तथा परिवारको राहतका लागि तत्काल २० लाख रुपैयाँ समर्पण गरेका हुन्। साथै, आगामी दिनमा प्राप्त हुने आफ्नो बाँकी तलबसमेत जनताको सेवामै लगाउने उनले बताएका छन्।

‘यो कुनै ठूलो सहयोग होइन, जनताबाट पाएको जिम्मेवारीको सानो अंश जनतामै फर्काउने मेरो प्रयास मात्र हो,’ खरेलले भनेका छन्।

पदबाट प्राप्त हुने तलब जनताकै भएको उल्लेख गर्दै उनले विपद्का बेला जनताको दुःखमा उक्त रकम फर्काउन चाहेको बताएका छन्।

पाँचखालमा जनतामाझ लोकप्रिय जनप्रतिनिधिका रूपमा चिनिँदै आएका खरेलले बाढीपहिरोबाट पीडित सम्पूर्ण नेपालीप्रति साथ र ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय