
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै गुल्मी–२ बाट निर्वाचित सांसद गोविन्द पन्थीले किसानको खेती जोगाउन बाँदर र बँदेल नियन्त्रणका लागि सरकारले तत्काल प्रभावकारी कार्यक्रम लागू गर्नुपर्ने बताएका छन्।
हालै गुल्मी जिल्लाको भ्रमणका क्रममा जनतासँग प्रत्यक्ष भेटघाट, गुनासा संकलन तथा खेतबारीको अवस्था अवलोकन गर्दा सबैभन्दा ठूलो समस्या बाँदर र बँदेलबाट हुने खेतीपातीको क्षति रहेको आफूले पाएको सांसद पन्थीले बताए।

उनले वन्यजन्तु नियन्त्रणको दीर्घकालीन समाधानका लागि वन क्षेत्रमा वन्यजन्तुले उपयोग गर्ने फलफूल तथा आहाराका बोटबिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्न सरकारलाई आग्रह गरे। यसले वन्यजन्तुको प्राकृतिक बासस्थान र खाद्य स्रोत संरक्षणमा सहयोग पुग्ने उनको भनाइ थियो।
तत्काल राहतका लागि उनले सरकारसमक्ष तीनवटा मुख्य प्रस्ताव पनि राखेका छन्। प्रत्येक स्थानीय तहमा कम्तीमा ५०० वटा बाँदर व्यवस्थापन गर्न सक्ने क्षमता भएको ‘मंकी पार्क’ स्थापना गर्नुपर्ने, बँदेल नियन्त्रणका लागि प्रत्येक पालिकामा कम्तीमा दुई जना तालिमप्राप्त शिकारी परिचालन गरी तलब तथा प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने र जिल्ला वन कार्यालयमार्फत प्रत्येक पालिकाका लागि कम्तीमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरी प्रभावकारी नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ।
सांसद पन्थीले किसानलाई उत्पादनतर्फ आकर्षित गर्नुअघि उत्पादनको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै किसान, वन्यजन्तु र प्रकृतिबीच सन्तुलन कायम हुने गरी सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने आग्रह गरे।




