
काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले हेरोइन कारोबारमा संलग्न भई लामो समयदेखि फरार रहेका एक क्रोनिक (Chronic) लागूऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ।
ब्यूरोका अनुसार सिन्धुपाल्चोकबाट काठमाडौं ल्याइँदै गरेको लागूऔषध हेरोइन बिक्री–वितरण गर्ने क्रममा यसअघि पक्राउ परेकी सविना अधिकारीबाट भएको अनुसन्धानका आधारमा फरार रहेका सिन्धुपाल्चोक जिल्लाको छिम्स्ता गाउँपालिका–४ घर भएका ३४ वर्षीय कृष्ण यादवलाई सर्लाहीको रामनगर गाउँपालिका–२ बाट पक्राउ गरिएको हो।

ब्यूरोका अनुसार पक्राउ परेका यादवविरुद्ध दुई फरक हेरोइन प्रकरणमा अनुसन्धान भइरहेको छ। पहिलो प्रकरणमा १११ ग्राम २४० मिलिग्राम हेरोइन बरामद भएको थियो भने दोस्रो प्रकरणमा ३०० ग्राम हेरोइन बरामद भएको थियो। दुवै घटनामा यादवको संलग्नता देखिएपछि उनी फरार रहेका थिए।
ब्यूरोले जारी गरेको विज्ञप्तिअनुसार कृष्ण यादवलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पक्राउ गरिएको हो।
ब्यूरोले यसअघि सोही प्रकरणमा पक्राउ परेकी सविना अधिकारीलाई ८८ ग्राम हेरोइन सहित नियन्त्रणमा लिएर अनुसन्धान सम्पन्न गरी अदालतको आदेशपछि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा पठाइसकेको जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोले फरार लागूऔषध कारोबारीको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।




