वीरगञ्ज । पर्साको बढनियार प्रहरी चौकीको हिरासतबाट एक थुनुवा फरार भएको घटनापछि ड्युटीमा रहेका प्रहरी हवल्दार रामनिवास यादवसँग स्पष्टीकरण मागिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति हिरासतबाट फरार भएका पर्सागढी नगरपालिका–४ पर्शुरामपुरका २८ वर्षीय लालबाबु उर्फ मेराजुल देवान सोमबार बिहान, फरार भएको करिब २४ घण्टाभित्रै सम्बन्धित वन कार्यालयमा आफैँ उपस्थित भएका थिए।

पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार ड्युटीमा रहेका प्रहरी हवल्दारको लापरबाहीका कारण थुनुवा हिरासतबाट भाग्न सफल भएको प्रारम्भिक निष्कर्षपछि घटनाबारे लिखित स्पष्टीकरण मागिएको हो। स्पष्टीकरण प्राप्त भएपछि त्यसका आधारमा आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइने उनले बताए।

प्रहरी स्रोतका अनुसार काठ तस्करीसम्बन्धी आरोपमा पक्राउ परेका देवान आइतबार राति खाना खाने समय, करिब ७ देखि ८ बजेको बीचमा हत्कडीसहित हिरासतबाट भागेका थिए। फरार भएपछि उनी आफ्नै घरमा बसेको र भोलिपल्ट आफैँ वन कार्यालयमा हाजिर भएको खुलेको छ।

घटना सार्वजनिक भएसँगै प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरेको थियो। प्रहरीको खोजी तीव्र बनेपछि परिवारका सदस्यको पहलमा उनी सम्बन्धित कार्यालयमा उपस्थित भएको स्रोतको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असार १४ गते पक्राउ परेका देवानविरुद्ध सबडिभिजन वन कार्यालय सबैयामा काठ तस्करीसँग सम्बन्धित तीनवटा मुद्दा दर्ता रहेकाले उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय