
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा पठाउने ५७ जना सांसदको नामावली टुंगो लगाएको छ।
आज बसेको पार्टी सचिवालय बैठकले ५७ जनाको अन्तिम नामावली अनुमोदन गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार सूचीमा ४८ महिला र ९ पुरुष रहेका छन्।

समावेशीताको आधारमा तयार गरिएको उक्त सूचीमा खस–आर्य समुदायबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेशी समुदायबाट ९ जना, दलित समुदायबाट ८ जना, थारु समुदायबाट ४ जना तथा मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ।
रास्वपाले संविधानमा व्यवस्था गरिएको समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी समानुपातिक सूची तयार गरेको जनाएको छ।



