रुकुम पूर्व । रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवमाथि छानबिन सुरु गरिएको छ। निर्वाचनका लागि भर्ना गरिएका प्रहरी सम्बन्धी विवाद बाहिरिएपछि उनलाई जिम्मेवारीबाट हटाउँदै छानबिन प्रक्रिया अघि बढाइएको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि गरिएको प्रहरी भर्ना प्रक्रियामा अनियमितता भएको आरोपपछि छानबिन सुरु गरिएको हो। आरोपअनुसार डीएसपी यादवले बारा जिल्लाबाट तीन जनालाई रुकुम पूर्व बोलाएर निर्वाचन प्रहरीका रूपमा भर्ना गराएको विषय विवादमा परेको छ।

उक्त घटनाको यथार्थ छानबिन गर्न प्रहरी उपरीक्षक (एसपी) पुष्प मल्लको नेतृत्वमा समिति गठन गरिएको प्रदेश प्रहरीले जनाएको छ। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताइएको छ।

छानबिन प्रक्रिया जारी रहँदासम्म डीएसपी यादवलाई जिम्मेवारीबाट हटाइएको छ। हाल रुकुम पूर्वको सुरक्षा जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव ज्ञवालीलाई दिइएको छ।

प्रदेश प्रहरीका अनुसार छानबिन प्रतिवेदनका आधारमा आवश्यक थप निर्णय लिइने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय