
काठमाडौं । सडकमा हिँडिरहेका एक व्यक्तिलाई कारबाट झरेर कुटपिट गर्ने चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार कार चालक पारस बमलाई नियन्त्रणमा लिइएको हो।
घटना चप्पल कारखाना अगाडि भएको बताइएको छ, जहाँ चालकले पैदलयात्रुलाई मुक्का प्रहार गरेका थिए। उक्त दृश्य समेटिएको भिडियो मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो। भिडियोमा कारबाट ओर्लिएका व्यक्तिले गालीगलौज गर्दै हातपात गरेको देखिन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कडा कारबाहीको माग गर्दै उपत्यका ट्राफिक प्रहरीलाई भिडियोमा उल्लेख गरेपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाप्रति आक्रोश व्यक्त गर्दै कतिपयले चालकको व्यवहारको आलोचना गरेका छन्। भिडियोमा एक महिलाले पनि ती पैदलयात्रुप्रति आपत्तिजनक शब्द प्रयोग गरेको सुनिन्छ।



