
काठमाडौं । जथाभावी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा असर पुर्याइरहेका १५ वटा रात्रिकालीन बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ अभियान सञ्चालन गर्दै ती बसहरूलाई कारबाही गरेको हो।
कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार बाटो इजाजतअनुसार गन्तव्यमा नपुगी सडक किनारमै अव्यवस्थित रूपमा पार्किङ गर्दा ट्राफिक जाम र व्यवस्थापनमा समस्या देखिएपछि कडाइका साथ चेकिङ गरिएको हो।

उक्त कसुरमा संलग्न बसहरूलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा ७५ र दफा १६० अनुसार कारबाही गरिएको छ। ऐनअनुसार यस्ता कसुरमा एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीको कार्यभार सम्हालेपछि काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार देखिन थालेको छ। अव्यवस्थित पार्किङ, ट्राफिक जाम र नियम उल्लङ्घनविरुद्ध नियमित निगरानी तथा प्रभावकारी कारबाहीले आम यात्रु र सर्वसाधारणले सहज अनुभूति गर्न थालेका छन्।
ट्राफिक नियम कार्यान्वयनमा देखिएको सक्रियता र सुधारमुखी नेतृत्वका कारण एसएसपी अधिकारीको कामप्रति सर्वसाधारणले प्रशंसा गर्न थालेका छन्।



