काठमाडौँ । सुरक्षा गोष्ठीका क्रममा मधेस प्रदेश पुगेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रदेश मातहतका सम्पूर्ण प्रहरी इकाइहरूलाई आपराधिक गतिविधि तथा तस्करी नियन्त्रणमा कडाइ गर्न स्पष्ट निर्देशन दिएका छन्।

आईजीपी कार्कीले विशेषगरी भारतबाट हुने विभिन्न किसिमका सामानको तस्करी तथा सीमावर्ती क्षेत्रबाट सञ्चालन हुने आपराधिक क्रियाकलापलाई पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन दिएका हुन्। उनले सीमामा सुरक्षा सतर्कता बढाउन, सूचनाको प्रभावकारी प्रयोग गर्न र संयुक्त अपरेशनलाई थप सुदृढ बनाउन जोड दिएका छन्।

त्यस्तै, प्रहरी कार्यालयहरूमा कुनै पनि प्रकारका बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्न उनले कडा आदेश दिएका छन्। सेवाग्राहीलाई प्रत्यक्ष, छरितो र पारदर्शी सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले प्रहरी संगठनभित्र अनुशासन, इमान्दारिता र जवाफदेहितालाई थप मजबुत बनाउन निर्देशन दिए।

आईजीपी कार्कीले अपराध नियन्त्रणमा कमजोरी देखिएमा सम्बन्धित जिम्मेवार प्रहरी अधिकारीलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन्। “जनताको सुरक्षा र कानुनको पालना प्रहरीको पहिलो दायित्व हो,” उनले भने, “कुनै पनि बहानामा अपराधसँग सम्झौता हुँदैन।”

उनको निर्देशनलाई मधेस प्रदेशमा बढ्दो अपराध नियन्त्रणका लागि महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय