
काठमाडौं । प्रहरी पोसाकमा टिकटक भिडियो बनाउने, कार्यालयका संवेदनशील स्थानमा भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा संगठनको छविमा आँच पुग्ने सामग्री प्रकाशन गर्ने प्रहरी कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिइएको छ।
प्रहरी कर्मचारीले सामाजिक सञ्जाल व्यवस्थित रूपमा प्रयोग गर्ने सम्बन्धमा पटक–पटक परिपत्र जारी भए पनि त्यसविपरीतका गतिविधि भइरहेको भन्दै सम्बन्धित अनुगमनकर्ता तथा अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो।

निर्देशनअनुसार प्रहरी पोसाकमा टिकटक भिडियो बनाउने, फेसबुकमा फोटो खिचेर सम्प्रेषण गर्ने, रिल बनाउने, अश्लील तथा अमर्यादित सामग्री प्रकाशन गर्ने र संगठनको छविमा आँच आउने किसिमका टिकटक भिडियो बनाएर सार्वजनिक गर्ने गतिविधिलाई नियन्त्रण गर्नुपर्नेछ।
त्यस्तै, चेन अफ कमान्डको बर्खिलाप गर्दै सामाजिक सञ्जालमा सरकार तथा नेतृत्वविरुद्ध टिकाटिप्पणी गर्ने र आपत्तिजनक कमेन्ट गर्ने गतिविधि पनि निगरानीमा राख्न भनिएको छ।
यस्ता गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम अभिलेखमा जनिने गरी कम्तीमा नसिहतसम्मको कारबाही गरी नतिजा सार्वजनिक गर्न निर्देशन दिइएको छ।
साथै, सामान्य सचेत गराउने कार्यमा मात्र सीमित भएको पाइएमा त्यस्तो कारबाही गर्ने अधिकारी तथा कार्यालय प्रमुखलाई समेत जिम्मेवार बनाउँदै आवश्यक कारबाही गर्न निर्देशनमा उल्लेख छ।
प्रहरी संगठनको अनुशासन, मर्यादा र संस्थागत छवि कायम राख्न सामाजिक सञ्जालको प्रयोगसम्बन्धी निर्देशन पालना गराउन तथा उल्लंघन गर्नेमाथि नियमानुसार कारबाही गर्न जोड दिइएको छ।





