
काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत तल्लो तहका कर्मचारीहरू (विभागीय परीक्षार्थी) माथिल्लो पदको खुला प्रतिस्पर्धामा सहभागी हुँदा भर्ना छनोटको ‘बियरिङ’ परीक्षणका कडा प्रावधानका कारण मारमा परेका छन्। सेवाका क्रममा हुने अत्यधिक खटाइ, शारीरिक थकान, अनियमित खानपान, समयको पाबन्दी र उमेर वृद्धिका कारण उत्पन्न हुने शारीरिक परिवर्तनकै आधारमा छनोट प्रक्रियाबाट बाहिरिनुपरेपछि तल्लो तहका प्रहरीहरूमा निराशा छाएको छ।
प्रहरी सेवामा प्रवेश गर्दा पूर्ण रूपमा स्वस्थ र फिट रहेका जवान तथा हवल्दारहरू वर्षौँको कठिन ड्युटीका क्रममा शारीरिक रूपमा केही परिवर्तन भोग्न बाध्य हुन्छन्। ड्युटीकै क्रममा हातखुट्टामा चोटपटक लाग्नु, दाग बस्नु, कपाल फुल्नु वा कपाल झर्नु जस्ता सामान्य र स्वाभाविक शारीरिक परिवर्तनलाई समेत माथिल्लो पदको (जस्तै: प्रहरी सहायक निरीक्षक – असई वा प्रहरी निरीक्षक – इन्स्पेक्टर) खुला प्रतिस्पर्धाको ‘बियरिङ’ परीक्षणमा अयोग्यताको कारण बनाइने गरिएको छ।

यसै सन्दर्भमा एक पीडित प्रहरी जवानको उदाहरण दिँदै विभागीय परीक्षार्थी प्रश्न गर्छन्—
“चार वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका एक जवान असईको तयारी गर्दै गर्दा ड्युटी वा सेवाका क्रममा हातमा सामान्य चोट लागेर सानो दाग बस्यो। त्यही सानो दागकै कारण उनलाई असईको बियरिङ परीक्षणमा ‘अनफिट’ गराएर फालियो। यदि उनी असई पदका लागि शारीरिक रूपमा फिट छैनन् भने हाल कार्यरत जवान पदका लागि कसरी fit भइरहेका छन्?”
यस्ता व्यावहारिक र वैज्ञानिक आधारविहीन कडाइका कारण लामो समय प्रहरी सङ्गठनभित्रै काम गरेर अनुभव र योग्यता हासिल गरेका दक्ष जनशक्तिहरू माथिल्लो पदमा पुग्नबाट वञ्चित भइरहेका छन्। सेवामै रहेका कर्मचारीलाई नयाँ भर्नासरह नै कडा र एकांगी शारीरिक मापदण्ड लागू गर्दा क्षमतावान् जनशक्तिमा निराशा बढेको छ भने यसले सङ्गठनभित्रै पलायनको दरलाई समेत बढाएको प्रहरी वृत्तमा चर्चा छ।
सेवा अवधिमा हुने स्वाभाविक शारीरिक परिवर्तन र ड्युटीका क्रममा लागेका चोटपटकलाई मध्यनजर गर्दै विभागीय परीक्षार्थीहरूका लागि ‘बियरिङ’ छनोट मापदण्डमा व्यावहारिक संशोधन र छुट दिनुपर्ने माग उठेको छ। योग्य र अनुभवी जनशक्तिलाई सङ्गठनभित्रै अवसर दिएर टिकाउन सम्बन्धित निकाय र गृह मन्त्रालयले समयमै ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ




