काठमाण्डौं।  भोटेकोशी बाढीको विनाशकारी असरलाई लिएर विभिन्न जातजातिप्रति लक्षित गर्दै अपमानजनक र घृणास्पद भिडियो तयार गरी फेसबुक रिलमा पोस्ट गर्ने एक युवालाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बैतडी सुर्नया गाउँपालिका–७ घर भई काठमाडौँको चन्द्रागिरि–१२ बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।

प्राकृतिक विपत्तिको संवेदनशीलतालाई उपेक्षा गर्दै सामाजिक सद्भाव भड्काउने र पीडितको घाउमा नून छर्कने खालका सामग्री सम्प्रेषण गर्नेविरुद्ध प्रहरीले कारबाही तीव्र पारेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआजी अविनारायण काफ्लेका अनुसार यस्ता अनर्गल, विभत्स र जनमानसमा त्रास फैलाउने गतिविधिप्रति शून्य सहनशीलताको नीति लिइएको छ।

निगरानीका लागि १० सदस्यीय टोली गठन

सामाजिक सञ्जालमा तीव्र बनेको गलत सूचना र अफवाह नियन्त्रणका लागि साइबर ब्युरोका डिएसपी गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय विशेष अनुगमन समिति गठन गरिएको छ। समितिले सञ्जालमा हुने यस्ता गतिविधिको निगरानी, सामग्री हटाउने र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक कारबाही गरिरहेको छ।

१७३ भ्रामक सामग्री भेटिए, दर्जनौँ हटाइए

प्रहरीको अद्यावधिक तथ्याङ्कअनुसार सामाजिक सञ्जालमा १७३ वटा (फेसबुकमा १६८, टिकटकमा चार र इन्स्टाग्राममा एक) गलत र भ्रामक समाचार वा सामग्री पहिचान भएका छन्। प्रहरीको सक्रियतामा फेसबुकका ७९ र टिकटकका चार वटा यस्ता आपत्तिजनक सामग्री हटाइसकिएको छ। नजानेर वा अज्ञानतावश सेयर गरिएका सामग्रीको गाम्भीर्य हेरी सचेत गराएर हटाउन लगाइएको डिएसपी आचार्यले जानकारी दिए।

यसबाहेक विपद्को मौका छोपेर राहत संकलनका नाममा हुन सक्ने ठगी तथा अन्य डिजिटल अपराध नियन्त्रण गर्नसमेत प्रहरी टोली उत्तिकै सक्रिय रूपमा परिचालन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय