
काठमाण्डौं। भोटेकोशी बाढीपछि उत्पन्न विपद्का चुनौती सामना गर्दै नेपाल प्रहरीले खोज, उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिएको जनाएको छ। सीमित साधनस्रोतका बाबजुद उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी प्रहरी परिचालन गरिएको हो।
नेपाल प्रहरीका अनुसार विपद् व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन भएका छन्। बाढी प्रभावित क्षेत्रबाट ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना अझै बेपत्ता रहेको पछिल्लो तथ्यांकमा उल्लेख छ।

सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी प्रधान कार्यालयमा डिआइजीको नेतृत्वमा नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र स्थापना गरी २४ घण्टा निगरानी भइरहेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार केन्द्रमा बेपत्ता आफन्तको खोजी तथा उद्धारका लागि परिवारबाट आउने सूचनालाई सम्बन्धित प्रहरी युनिटमा पठाएर खोजी कार्य अघि बढाइएको छ। उनका अनुसार हालसम्म केन्द्रमा १ हजार ३५१ पटक खोजी तथा उद्धारका लागि अनुरोध आएको छ।
ड्रोन र तालिमप्राप्त कुकुरबाट खोजी
भौगोलिक तथा भौतिक जटिलताका कारण प्रभावित क्षेत्रमा खोजी कार्य चुनौतीपूर्ण बनेपछि प्रहरीले तालिमप्राप्त कुकुर (केनाइन) र ड्रोन क्यामेरा समेत परिचालन गरेको छ।
प्रहरीका अनुसार ड्रोनको प्रयोगबाट नुवाकोटको विदुर नगरपालिका–१०, वेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको थियो। भग्नावशेषमा जस्तापाता, काठ र डोरीलगायतका सामग्रीको प्रयोग गर्दै प्रहरी टोली शव रहेको घरसम्म पुगेको थियो।
विदेशी नागरिकका लागि ‘मिसिङ हेल्प डेस्क’
मृतक तथा बेपत्ता विदेशी नागरिकसम्बन्धी सूचना आदानप्रदान र समन्वयका लागि नेपाल प्रहरी प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिसिङ हेल्प डेस्क स्थापना गरिएको छ।
डेस्कमार्फत नेपालस्थित सम्बन्धित देशका दूतावास, कूटनीतिक नियोग तथा विदेशी संस्थासँग आवश्यक सूचना आदानप्रदान भइरहेको प्रहरीले जनाएको छ।
शव व्यवस्थापनमा वैज्ञानिक विधि
खोज तथा उद्धारसँगै पहिचान हुन नसकेका शव तथा मानव अंगको व्यवस्थापनमा पनि प्रहरीले फोरेन्सिक विशेषज्ञको सहयोग लिइरहेको छ।
संकलित शवको संख्या बढ्दै जाँदा संक्रमण तथा महामारीको जोखिमसमेत हुने भएकाले शवलाई सुरक्षित रूपमा डेड बडी ब्यागमा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा परीक्षण गर्ने तथा पहिचानका लागि आवश्यक विवरण संकलन गर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका शवको वैज्ञानिक पहिचानका लागि डिएनए नमुना संकलन तथा सुरक्षित संरक्षण समेत भइरहेको छ। नेपाल प्रहरी अस्पताल, महाराजगन्जले बेपत्ता नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव वा मानव अंग पहिचान गर्न सक्ने प्रक्रियाका लागि डिएनए प्रोफाइलिङ गरिरहेको जनाएको छ।
बहुआयमिक चुनौतीबीच कर्तव्यमा प्रहरी
बाढी प्रभावित क्षेत्रमा हिलो, पाँगो माटो र ढुंगासहित पुनः बाढी आउन सक्ने जोखिम कायमै रहे पनि नेपाल प्रहरीले उद्धार, बेपत्ता व्यक्तिको खोजी, शव व्यवस्थापन, पीडितसम्म राहत पुर्याउने तथा विस्थापित नागरिकका घर र सम्पत्तिको सुरक्षालगायतका कामलाई निरन्तरता दिएको छ।
प्रवक्ता काफ्लेका अनुसार विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा प्रभावित नागरिकको सुरक्षा सुनिश्चित गर्नसमेत प्रहरी सक्रिय रहेको छ।




