
सुरक्षा सरोकार । सामाजिक सञ्जालमा नेपाल प्रहरीको राहतसम्बन्धी निर्णयमाथि प्रश्न उठाएको भन्दै पत्रकार सागर उप्रेतीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएर करिब पाँच घण्टा सोधपुछ गरेको र उनको मोबाइल फोन नियन्त्रणमा लिएको उप्रेतीले बताएका छन्।
बिहीबार बिहान साइबर ब्युरोबाट फोन आएपछि आफू स्वयं ब्युरो पुगेको बताउँदै उप्रेतीले प्रहरी नेतृत्वसँग सम्बन्धित आफ्नो फेसबुक पोस्टका विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिए। उनका अनुसार त्यसपछि आफूलाई प्रशासन विभागमा लगेर विभिन्न ५–६ वटा बुँदामा स्पष्टीकरण सोधिएको थियो।

उप्रेतीले आफ्नो मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको र त्यससम्बन्धी कागजसमेत गराइएको बताएका छन्। साथै, आफ्नो फेसबुक पेज अन्य डिभाइसबाट समेत नचलाउन र तत्काल कुनै पोस्ट नगर्न भनिएको तथा बोलाएको समयमा उपस्थित हुने सर्तमा आफूलाई साथीको जिम्मा लगाइएको उनको दाबी छ।
उप्रेतीले बुधबार आफ्नो फेसबुक पेज ‘सागर सर’मार्फत प्रहरीलाई लक्षित गर्दै ‘४० करोड बाँड्न सक्ने संगठनले आफ्नै प्रहरीका परिवारलाई ३०–४० लाख दिन किन हिचकिचाएको?’ भन्ने आशयको पोस्ट गरेका थिए।
उक्त पोस्टमा उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ योगदान गर्न सक्ने संगठनले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका तथा बेपत्ता प्रहरी कर्मचारीका परिवारलाई समेत पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउनुपर्ने विषय उठाएका थिए।
प्रहरी कर्मचारीको तलबबाट रकम कटौती गरेर राहत कोषमा योगदान गर्ने निर्णय भइरहेका बेला कर्तव्यकै क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारको भविष्य सुरक्षित गर्न संगठनले थप जिम्मेवारी लिनुपर्ने धारणा उनले राखेका थिए।
‘मैले आम नागरिकका हैसियतले प्रश्न गरेको हुँ’
उप्रेतीले आफूले कुनै अपमानजनक वा आपत्तिजनक अभिव्यक्ति नदिई सार्वजनिक सरोकारको विषयमा प्रश्न मात्र उठाएको दाबी गरेका छन्।
“मैले त एक आम नागरिकका हैसियतले गर्न मिल्ने प्रश्न मात्र गरेको हुँ। यस्तो प्रश्न गर्ने अधिकार संविधानले नै दिएको जस्तो लाग्थ्यो। तर, मलाई पाँच घण्टासम्म केरकार गरियो, मोबाइल जफत गरियो र औँठाछापसमेत लगाउन लगाइयो,” उनले बताए।
आफूले कुनै गलत काम गरेको भए कानुन बमोजिमको प्रक्रिया सामना गर्न तयार रहेको बताउँदै उप्रेतीले आफूमाथि अन्याय भएको ठहरिए आवश्यक कानुनी उपचार खोज्ने बताएका छन्।
प्रहरीको मनोबल उच्च हुनुपर्छ भन्ने धारणा राख्दै आएका उप्रेती
करिब पाँच वर्षदेखि पत्रकारितामा सक्रिय उप्रेती हाल ‘खबरदार दैनिक’मा संवाददाताका रूपमा समेत कार्यरत रहेको बताइएको छ। पछिल्लो एक वर्षदेखि उनले सुरक्षा तथा प्रहरी संगठनसँग सम्बन्धित विषयमा आफ्ना धारणा, प्रश्न तथा सुझावहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन्।
प्रहरी संगठनको मनोबल उच्च राख्नुपर्ने धारणा राख्दै आएका उप्रेतीले प्रहरी कर्मचारीका समस्या, सेवा–सुविधा, वृत्ति विकास तथा संगठनभित्र देखिएका व्यावहारिक विषयमा समेत निरन्तर आवाज उठाउँदै आएको बताएका छन्।
उनका सामाजिक सञ्जालमा सार्वजनिक पोस्टहरू हेर्दा उनले नेपाल प्रहरीको गरिमा, समग्र संगठन वा नेतृत्वलाई नै बदनाम गर्ने उद्देश्यले अभिव्यक्ति दिएको देखिँदैन। उनका धेरैजसो पोस्टहरू तल्लो तहमा कार्यरत प्रहरी कर्मचारीले भोग्दै आएका समस्या, सेवा सुविधा तथा उनीहरूका गुनासा र आवाजसँग सम्बन्धित देखिन्छन्।
विशेषगरी प्रहरी जवान, हवल्दारलगायत तल्लो तहका कर्मचारीका व्यावहारिक समस्या र उनीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्याउनुपर्ने विषयमा उनले निरन्तर लेख्दै आएको देखिन्छ।
प्रश्न उठाउनु र संगठनलाई बदनाम गर्नु एउटै विषय होइन
कुनै सार्वजनिक संस्थाको निर्णय, नीति वा कामकारबाहीमाथि प्रश्न उठाउनु र उक्त संस्थालाई नै बदनाम गर्ने उद्देश्यले अभिव्यक्ति दिनु फरक विषय हुन्। प्रहरी संगठनभित्रका कमजोरी, असमान व्यवहार वा कर्मचारीका गुनासोबारे प्रश्न उठाउँदैमा त्यसलाई स्वतः संगठनविरुद्धको गतिविधिका रूपमा व्याख्या गरिनु उपयुक्त नहुने तर्कसमेत उठ्न सक्छ।
सार्वजनिक सरोकारका विषयमा सभ्य र रचनात्मक रूपमा प्रश्न उठाउने अधिकार पत्रकार तथा आम नागरिक दुवैसँग रहन्छ। त्यसैले उप्रेतीले कुन अभिव्यक्ति वा पोस्टमार्फत कानुन उल्लंघन गरे भन्ने विषयमा स्पष्ट आधार र प्रमाण सार्वजनिक हुनुपर्ने देखिन्छ।
केवल आलोचनात्मक प्रश्न उठाएकै आधारमा पत्रकारलाई सोधपुछ गर्नु, मोबाइल नियन्त्रणमा लिनु तथा सामाजिक सञ्जालमा सामग्री प्रकाशन नगर्न निर्देशन दिनुले अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको अभ्याससम्बन्धी प्रश्नसमेत जन्माउन सक्छ।
साइबर ब्युरोको भनाइ : ‘सम्झाई–बुझाई गर्न बोलाइएको हो’
यस विषयमा सुरक्षा सरोकारले साइबर ब्युरोका एसपी दिलीप गिरीसँग कुराकानी गरेका थियौ।
एसपी गिरीले उप्रेतीलाई सामान्य सोधपुछका लागि बोलाइएको बताएका छन्। प्रहरी संगठन ‘चेन अफ कमाण्ड’मा सञ्चालन हुने भएकाले भड्काउ प्रकृतिका पोस्टले संगठनप्रति नकारात्मक सन्देश जान सक्ने उनको भनाइ थियो।
पोस्ट गर्ने व्यक्तिको नियत गलत नभए पनि त्यसको परिणाम वा सन्देश गलत रूपमा बुझिन सक्ने भएकाले सम्झाई–बुझाई गर्नकै लागि उप्रेतीलाई बोलाइएको जानकारी एसपी गिरीले दिनु भयो ।
सागर उप्रेतीले सञ्चालन गर्दै आएको फेसबुक ‘सागर सर’ नामक पेजबाट पोस्ट गरिएका प्रहरीसम्बन्धी केही पोस्टहरूः-













