
काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रहरी समन्वय समितिको बैठकले मृतक प्रहरीका परिवारलाई राहतसँगै अन्य सहयोगका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरेको हो।

निर्णयअनुसार मृतक प्रहरी कर्मचारीका सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइनेछ। त्यस्तै, इच्छुक परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गरिने भएको छ।
त्यसैगरी, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय गरिएको छ।
बाढी प्रभावित प्रहरी इकाइमा कार्यरत कर्मचारीका व्यक्तिगत सामग्री क्षति भएबापत जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ।
बाढीमा परी अझै सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई प्रभावकारी बनाउन विशेषज्ञ टोली परिचालन गरिने भएको छ। खोजी तथा उद्धारका क्रममा पीडित परिवारसँग निरन्तर समन्वय गरिने प्रहरीले जनाएको छ।
त्यस्तै, घाइते प्रहरी कर्मचारीको उपचारमा आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि बैठकले जनाएको छ।
यसैबीच, नेपाल प्रहरीले राष्ट्रिय विपद्का बेला सरकारलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। उक्त रकम पनि प्रहरी कर्मचारीको योगदानबाट संकलन गरिने जनाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा हालसम्म ३ जना प्रहरी कर्मचारीको शव फेला परेको छ भने २५ जना अझै सम्पर्कविहीन छन्।




