सुरक्षा सरोकार । नेपाल प्रहरीले रसुवाको भोटेकोशी/त्रिशूलीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आफ्ना कर्मचारीको तलब कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ।

नेपाल प्रहरीको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयदेखि प्रहरी कार्यालय सहयोगीसम्मका ७६ हजार ८५५ जना कर्मचारीको तलबबाट विभिन्न दरमा रकम कटौती गरिनेछ। यसरी कर्मचारीको तलबबाट कुल ४३ करोड ३७ लाख ८१ हजार ७७९ रुपैयाँ संकलन हुने निर्णयपत्रमा उल्लेख छ।

नेपाल प्रहरीको हालको दरबन्दी ७९ हजार ५३१ रहेकोमा २ हजार १०१ दरबन्दी रिक्त रहेको उल्लेख छ। कार्यरत ७७ हजार ४३० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटक प्रहरी, राष्ट्रिय सुरक्षा परिषद् तथा बाढी प्रभावित क्षेत्रका ५७५ जना कर्मचारीलाई कटौतीबाट अलग राखी बाँकी ७६ हजार ८५५ जनाको तलबबाट रकम कटौती गर्ने निर्णय गरिएको हो।

संकलित रकममध्ये ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने र बाँकी ३ करोड ३७ लाख ८१ हजार ७७९ रुपैयाँ नेपाल प्रहरी कल्याण कोषमा जम्मा गर्ने निर्णय भएको छ। कल्याण कोषमा जम्मा हुने रकमलाई राहतका रूपमा नेपाल प्रहरी कल्याण महाशाखाले वितरण तथा व्यवस्थापन गर्ने उल्लेख छ।

दर्जाअनुसार फरक–फरक रकम कटौती

निर्णयपत्रअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) देखि प्रहरी कार्यालय सहयोगीसम्मका कर्मचारीको तलबबाट दर्जाअनुसार फरक–फरक दिन बराबरको रकम कटौती हुनेछ।

प्रहरी महानिरीक्षकको एक दिनको तलब २ हजार ६४३ रुपैयाँ कायम गरी १५ दिन बराबर अर्थात् ३९ हजार ६४५ रुपैयाँ कटौती गर्ने उल्लेख छ। प्रहरी अतिरिक्त महानिरीक्षकको हकमा पनि १५ दिन बराबरको रकम कटौती हुनेछ।

त्यस्तै, प्रहरी नायब महानिरीक्षकको १५ दिन बराबर ३३ हजार ५२५ रुपैयाँ, प्रहरी वरिष्ठ उपरीक्षकको १५ दिन बराबर ३१ हजार २३० रुपैयाँ, प्रहरी उपरीक्षकको १२ दिन बराबर २३ हजार ४ रुपैयाँ र प्रहरी नायब उपरीक्षकको १२ दिन बराबर २१ हजार ४४४ रुपैयाँ कटौती हुनेछ।

प्रहरी निरीक्षकको १२ दिन बराबर १९ हजार २२४ रुपैयाँ, प्रहरी वरिष्ठ नायब निरीक्षकको ८ दिन बराबर १२ हजार २४ रुपैयाँ, प्रहरी नायब निरीक्षकको ६ दिन बराबर ७ हजार ६३८ रुपैयाँ तथा प्रहरी सहायक निरीक्षकको ६ दिन बराबर ७ हजार २३० रुपैयाँ कटौती गर्ने निर्णयपत्रमा उल्लेख छ।

प्रहरी हवल्दारको ५ दिन बराबर ५ हजार २३० रुपैयाँ तथा प्रहरी कार्यालय सहयोगीको तहअनुसार ५ दिन र २ दिन बराबरको रकम कटौती गरिनेछ।

विगतभन्दा फरक शैलीमा तलब कटौती

प्रहरी प्रधान कार्यालयका अनुसार विगतमा विपद्का बेला सबै प्रहरी कर्मचारीको तलबबाट तुलनात्मक रूपमा ‘होलसेल’ शैलीमा रकम कटौती गर्ने अभ्यास हुने गरेको थियो। तर, यसपटक भने कर्मचारीको तह, जिम्मेवारी र तलबको अवस्थालाई ध्यानमा राखेर फरक–फरक दरमा रकम कटौती गर्ने व्यवस्था अपनाइएको दाबी गरिएको छ।

प्रहरी प्रधान कार्यालयले यसपटकको विधि विगतको तुलनामा बढी वैज्ञानिक र व्यवस्थित भएको जनाएको छ। सबै कर्मचारीबाट समान रकम कटौती गर्नुको सट्टा उनीहरूको तह तथा तलबअनुसार फरक दर निर्धारण गरिएको बताइएको छ।

यसपटक विशेषगरी विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उद्धार तथा राहत कार्यमा खटिएका प्रहरी कर्मचारीलाई थप प्रोत्साहन र सुविधा उपलब्ध गराउने समेत प्रधान कार्यालयले जनाएको छ।

एकातिर विपद्बाट प्रभावित नागरिकका लागि आवश्यक स्रोत जुटाउनु राज्यको दायित्व हो भने अर्कोतर्फ संकटको समयमा आफ्नो ज्यानको समेत जोखिम मोलेर अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।

त्यसैले नेपाल प्रहरीको पछिल्लो निर्णयलाई विपद् प्रभावित नागरिकप्रतिको सहयोगसँगै सुरक्षाकर्मीको योगदान, प्रोत्साहन र मनोबललाई कसरी सन्तुलित गर्ने भन्ने दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय