काठमाडौँ । आफूलाई गृह मन्त्रालयसँग सम्बन्धित व्यक्ति भएको परिचय दिँदै प्रहरी अधिकृतलाई सरुवा गरिदिने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको चिङ्गाड गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय कुल वीर नेपाली रहेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको समन्वयमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार असार २१ गते उनले कैलालीमा कार्यरत एक जना प्रहरी अधिकृतलाई टेलिफोन गरी आफू गृह मन्त्रालयसँग सम्बन्धित व्यक्ति भएको दाबी गर्दै, “तपाईंले काम गर्न सक्नुभएन भने तपाईंको सरुवा गरिदिन्छु” भन्दै दबाब र धम्की दिएका थिए।

घटनाबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानबाट उनले सरकारी प्रभाव र पहुँच भएको झुटो दाबी गर्दै प्रहरी अधिकृतलाई मानसिक दबाब सिर्जना गर्न खोजेको देखिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुर अन्तर्गत तीन दिनको म्याद अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए।

एसपी भट्टराईले पछिल्लो समय आफूलाई उच्च राजनीतिक वा प्रशासनिक पहुँच भएको भन्दै सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई धम्क्याउने वा प्रभाव पार्ने प्रयास गर्ने व्यक्तिहरू सक्रिय हुन सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सजग रहन आग्रह गरेका छन्। यस्ता व्यक्तिबाट कुनै प्रकारको धम्की, दबाब वा प्रभाव पार्ने प्रयास भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको सम्पर्क माध्यममार्फत तत्काल जानकारी गराउन पनि उनले अनुरोध गरेका छन्।

प्रहरीले सरकारी पद, पहुँच वा प्रभावको झुटो दाबी गर्दै कानुनविपरीत गतिविधि गर्ने जोसुकैमाथि पनि कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय