काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा नेतृत्व परिवर्तन भएको छ। कार्यालय प्रमुखका रूपमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक सचिवालय, उजुरी छानबिन महाशाखानक्सालमा , सरुवा(काज) भएसँगै उहाँलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। उहाँको स्थानमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।

नेतृत्व हस्तान्तरणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। आफ्नो कार्यकालमा चुनौतीपूर्ण परिस्थितिलाई अवसरमा बदल्दै ट्राफिक प्रहरी संगठनलाई पुनः व्यवस्थित बनाउन सफल एसएसपी अधिकारीको योगदानको चर्चा भइरहेको छ। अर्कोतर्फ बढ्दो सवारी चाप, ट्राफिक जाम र सडक व्यवस्थापनका जटिल चुनौतीबीच एसएसपी काफ्लेमाथि महत्वपूर्ण जिम्मेवारी आएको छ।

चुनौतीपूर्ण अवस्थामा नेतृत्व सम्हालेका अधिकारी

एसएसपी नवराज अधिकारीले करिब एक वर्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हाल्नुभएको थियो। उहाँको कार्यकाल ट्राफिक प्रहरी संगठनका लागि अत्यन्त चुनौतीपूर्ण समयका रूपमा रहेको थियो।

जेनजी आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा भएको आगजनी तथा तोडफोडका कारण कार्यालयको भौतिक संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। महत्त्वपूर्ण कागजात, सञ्चार उपकरण, ट्राफिक व्यवस्थापनका सामग्री तथा प्रहरी पोशाकसमेत नष्ट भएपछि सेवा प्रवाहमा गम्भीर असर परेको थियो।

त्यस अवधिमा कतिपय ट्राफिक प्रहरी कर्मचारी आवश्यक पोशाक र उपकरणको अभावमा सामान्य पोशाकमा सडकमा खटिनुपर्ने अवस्था समेत सिर्जना भएको थियो। यस्तो कठिन परिस्थितिमा एसएसपी अधिकारीले नेतृत्व सम्हाल्दै संगठनलाई पुनः व्यवस्थित गर्ने अभियान अघि बढाउनुभएको थियो।

संगठनको मनोबल उकास्न सफल नेतृत्व

कठिन परिस्थितिमा संगठनको मनोबल पुनःस्थापित गर्नु उहाँको प्रमुख उपलब्धिमध्ये एक मानिन्छ। निराशा र अन्योलको अवस्थामा उहाँले कर्मचारीहरूलाई प्रेरित गर्दै सेवामा पुनः सक्रिय बनाउन सफल हुनुभएको बताइन्छ।

नियमित संवाद, समस्या समाधानमा अग्रसरता, स्रोत–साधनको व्यवस्थापन तथा प्रत्यक्ष नेतृत्व सहभागिताले संगठनभित्र सकारात्मक वातावरण निर्माण भएको थियो।

ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार एसएसपी अधिकारीले प्रशासनिक नेतृत्वसँगै फिल्डमा प्रत्यक्ष उपस्थित भई काम गर्ने शैली अपनाउनुभएको थियो, जसले कर्मचारीहरूको आत्मविश्वास बढाएको थियो।

चोरी तथा हराएका सवारीसाधन फेला पार्ने अभियानमा सफलता

उहाँको कार्यकालमा चोरी भएका तथा हराएका सवारीसाधनको खोजतलास अभियान पनि उल्लेखनीय रह्यो। ट्राफिक प्रहरी र सम्बन्धित निकायबीच समन्वय गर्दै ठूलो संख्यामा सवारीसाधन फेला पारेर वास्तविक धनीलाई हस्तान्तरण गरिएको थियो।

यस अभियानले पीडित नागरिकलाई राहत दिनुका साथै सवारी चोरी नियन्त्रणमा समेत सकारात्मक प्रभाव पारेको थियो।

त्यसैगरी ट्राफिक सचेतना कार्यक्रमहरूलाई पनि प्राथमिकता दिइएको थियो। विद्यालय, कलेज तथा विभिन्न संस्थासँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

नवराज अधिकारीको कार्यकालका सुधार र मानवीय पहल

एसएसपी अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरी संगठनभित्र सुधार, व्यवस्थापन र मानवीय दृष्टिकोणका विभिन्न कार्यक्रमहरू सञ्चालन भएका थिए।

साप्ताहिक हाइकिङ कार्यक्रम
प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै प्रत्येक शनिबार हाइकिङ कार्यक्रम सञ्चालन गरिएको थियो। यसले तनाव व्यवस्थापन र आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍याएको थियो।

मनोरञ्जनात्मक कार्यक्रम (सिनेमा प्रदर्शन)
ड्युटीको तनाव कम गर्न समय–समयमा सिनेमा प्रदर्शन तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए, जसले संगठनभित्र सकारात्मक वातावरण निर्माण गरेको थियो।

ट्राफिक सप्ताह कार्यक्रम सुदृढीकरण
विद्यालय, कलेज र विभिन्न संस्थासँग सहकार्य गर्दै ट्राफिक सप्ताह कार्यक्रमलाई प्रभावकारी बनाइएको थियो। सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी जनचेतना विस्तारमा यसले महत्वपूर्ण भूमिका खेलेको थियो।

सेवा प्रवाह र प्रविधिमा सुधार
ट्राफिक व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाउन प्रविधिको प्रयोग विस्तार, सेवा प्रवाह सुधार तथा जनसेवा अभिवृद्धिमा विशेष ध्यान दिइएको थियो।

सकारात्मक कार्यसंस्कृतिको विकास
फिल्डमा प्रत्यक्ष उपस्थिति, कर्मचारीसँग नियमित संवाद र समस्या समाधानमा सक्रियताले संगठनभित्र अनुशासनसँगै मानवीयता र सहकार्यको भावना विकास भएको थियो।

एसएसपी सुरेश काफ्लेमाथि नयाँ जिम्मेवारी

नवनियुक्त कार्यालय प्रमुख एसएसपी सुरेश काफ्लेले अब उपत्यकाको जटिल ट्राफिक व्यवस्थापन सम्हाल्नुपर्नेछ। स्मार्ट ट्राफिक व्यवस्थापन, डिजिटल प्रविधिको विस्तार, सडक अनुशासन कायम तथा जाम न्यूनीकरण उहाँका प्रमुख प्राथमिकता हुने अपेक्षा गरिएको छ।

एसएसपी नवराज अधिकारीको बिदाइसँगै ट्राफिक प्रहरीले संकट व्यवस्थापनमा सक्षम नेतृत्वलाई विदाइ गरेको छ। उहाँको कार्यकाललाई संगठनभित्र सुधार र मानवीय नेतृत्वको उदाहरणका रूपमा लिइन्छ। त्यस्तै, नयाँ प्रमुख एसएसपी काफ्लेसँग उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय