
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्रीले कैलालीको फूलबारीस्थित आशारा सुधार केन्द्रको अवलोकन गर्दै उपचार तथा पुनःस्थापना सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन जोड दिएकी छन्।
मिति २०८३ साउन १० गते सम्पन्न अवलोकन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराई, नेपाल प्रहरी श्रीमती संघकी कार्यक्रम सचिव सङ्गीता लम्साल तथा कोषाध्यक्ष राधिका ज्ञवालीको पनि सहभागिता रहेको थियो।

अवलोकनका क्रममा टोलीले केन्द्रमा उपचार तथा पुनःस्थापना सेवा लिइरहेका सेवाग्राहीहरूको अवस्था, उपचार प्रक्रिया तथा केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे जानकारी लिनुका साथै केन्द्रका पदाधिकारीसँग अन्तरक्रिया गरेको थियो।
सो अवसरमा अध्यक्ष खत्रीले सेवाग्राहीको आवश्यकता र पुनःस्थापनालाई केन्द्रमा राखेर उपचार तथा पुनःस्थापना सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन आवश्यक रहेको बताइन्। उनले यसका लागि सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा पनि जोड दिइन्।




