
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले कैलालीस्थित नेपाल–भारत सीमा नाका त्रिनगरमा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ। सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री तथा समन्वयात्मक बनाउने उद्देश्यका साथ विशेष तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई सीमा नाकामा खटाइएको हो।
सशस्त्र प्रहरी मुख्यालयको निर्देशनअनुसार सीमा नाकामा विशेष तालिमप्राप्त जनशक्ति परिचालन गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा धनगढीको त्रिनगर नाकाबाट बीआईटी कार्यक्रम सुरु गरिएको वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरियाले जनाएको छ। यो कार्यक्रम क्रमशः प्रदेशका अन्य प्रमुख सीमा नाकामा पनि विस्तार गरिने जनाइएको छ।

वैद्यनाथ बाहिनीका बाहिनीपति डिआईजी दिग्विजय सुवेदीका अनुसार बीआईटी परिचालनपछि सीमा क्षेत्रमा हुने गतिविधिको प्रभावकारी व्यवस्थापन, स्थानीय बासिन्दासँग समन्वय, सूचना आदानप्रदान तथा सीमापार हुने विभिन्न चुनौतीको समयमै पहिचान र नियन्त्रण गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार बीआईटी कार्यक्रमले सीमा क्षेत्रमा स्थानीय समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सीमा सुरक्षा व्यवस्थापनलाई आधुनिक, समन्वयात्मक र जनमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।




