काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका सहयोगी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाउन विशेष अदालतले १० दिन थुनामा राख्ने अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले दुवै जनालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अनुसन्धान गरिरहेको छ। यसअघि नेपाल प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। सशस्त्र प्रहरी बलको पत्रका आधारमा उनीहरू गत असार २० गते पक्राउ परेका थिए।

सशस्त्र प्रहरीको आन्तरिक छानबिनले इन्सपेक्टर गुरुङको योजनाअनुसार विद्यालयको रकम हिनामिना भएको निष्कर्ष निकालेको स्रोतले जनाएको छ। छानबिन प्रतिवेदनमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको समेत गम्भीर लापरबाही देखिएको उल्लेख गरिएको छ।

अख्तियारका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको भूमिका, आर्थिक कारोबारको प्रकृति तथा हिनामिनाको वास्तविक परिमाणबारे विस्तृत अनुसन्धान जारी रहेको छ। प्रकरणमा थप व्यक्ति तानिन सक्ने सम्भावनालाई समेत नकारिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय