
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पटक–पटक विवादास्पद अभिव्यक्ति र व्यवहारका कारण आलोचित हुँदै आएका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार छनोट र टिकट वितरणमा हतार गर्दा अहिले रास्वपा आफ्नै सांसदको बचाउ गर्ने कि पार्टीको गरिमा र राजनीतिक संस्कार जोगाउने भन्ने दोधारमा परेको देखिन्छ।
सामाजिक अभियन्ताका रूपमा स्थापित व्यक्ति एकाएक सांसदको भूमिकामा पुग्दा आवश्यक राजनीतिक संस्कार, संसदीय मर्यादा र जिम्मेवारीबोधको अभाव देखिनु स्वयं ती व्यक्तिका लागि पनि चुनौती हो। न राजनीतिक संस्कार, न विषयवस्तुको पर्याप्त अध्ययन–अनुसन्धान, न सामाजिक सम्बन्ध र संवेदनशीलताको ख्याल, न अरूको मान–सम्मानप्रति सम्मान—यस्ता व्यवहार जनप्रतिनिधिबाट स्वीकार्य हुन सक्दैनन्।

कहिले सिन्धुलीको आत्महत्या प्रकरणमा प्रहरीप्रति असंयमित अभिव्यक्ति दिने, कहिले आफ्नै महाधिवेशनमा सहभागी पाहुनामाथि आपत्तिजनक शब्द प्रयोग गर्ने र पछिल्लो समय प्रहरी संगठनका प्रमुखमाथि समेत गम्भीर आरोप लगाउनेजस्ता अभिव्यक्तिले जनप्रतिनिधिको मर्यादा र जिम्मेवारीमाथि नै प्रश्न उठाएको छ। आलोचना र प्रश्न गर्ने अधिकार सबैलाई छ, तर आरोप लगाउँदा प्रमाण, भाषा र संस्थागत मर्यादाको ख्याल गर्नु पनि उत्तिकै आवश्यक हुन्छ।
प्रहरीलाई जे भने पनि हुन्छ, जसरी व्यवहार गरे पनि हुन्छ भन्ने मानसिकता अन्त्य हुनुपर्छ। नेपाल प्रहरी राज्यको कानुन कार्यान्वयन गर्ने प्रमुख निकाय हो। शान्ति–सुरक्षा कायम गर्ने, नागरिकको हक–अधिकारको संरक्षण गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, सामाजिक सद्भाव कायम राख्ने र विपद् तथा जोखिमका समयमा राज्यको मेरुदण्डका रूपमा काम गर्ने जिम्मेवारी प्रहरीले निर्वाह गर्दै आएको छ।
त्यसैले कुनै व्यक्तिको कमजोरी वा कुनै घटनालाई आधार बनाएर सिंगो प्रहरी संगठन र त्यसको नेतृत्वलाई निरन्तर बदनाम गर्ने प्रयास स्वीकार्य हुनु हुँदैन। प्रहरीमाथि प्रश्न उठाउन पाइन्छ, छानबिनको माग गर्न पाइन्छ, तर आरोपलाई तथ्य र प्रमाणले पुष्टि गर्नुपर्ने सामान्य लोकतान्त्रिक मान्यता सबैले पालना गर्नुपर्छ।
प्रहरी संगठनमाथि सार्वजनिक रूपमा लगाइएका गम्भीर आरोपका विषयमा राज्यका सम्बन्धित निकायले पनि आवश्यक गम्भीरता देखाउनुपर्छ। प्रहरीलाई निरीह बनाउने, राजनीतिक दबाबमा राख्ने वा संस्थागत मनोबल कमजोर पार्ने प्रवृत्तिले अन्ततः राज्यको सुरक्षा प्रणालीमै असर पार्छ।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदका अभिव्यक्ति र गतिविधिबारे आवश्यक छानबिन गरी तथ्यका आधारमा उचित निर्णय लिनुपर्छ। गल्ती भएको भए सच्याउने र प्रमाणसहित गम्भीर आरोप लगाइएको भए त्यसको कानुनी तथा संस्थागत प्रक्रियाबाट निरूपण गर्ने जिम्मेवारी पार्टीको पनि हो।
जनप्रतिनिधि हुनु भनेको केवल संसद्को सदस्य बन्नु मात्र होइन; त्यो पदसँग राजनीतिक संस्कार, संवैधानिक जिम्मेवारी, सार्वजनिक मर्यादा र नागरिकप्रतिको उत्तरदायित्व पनि जोडिएको हुन्छ। त्यसैले सांसदका अभिव्यक्ति र व्यवहारले पार्टीको मात्र होइन, समग्र संसदीय व्यवस्थाको गरिमा प्रभावित गर्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयलाई गम्भीर रूपमा लिएर आवश्यक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाओस्। अन्यथा यस्ता घटनाले पार्टीप्रतिको जनविश्वास र आस्थामै प्रश्न उठाउने अवस्था सिर्जना गर्न सक्छ।
धन्यवाद।
विशाल भण्डारी
धुर्कोट गाउँपालिका, गुल्मी
हाल–जापान 🇯🇵




