
वीरगञ्ज, पर्सा । पर्सा प्रहरीले स्रोत नखुलेको नगद २८ लाख २८ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। मंगलबार विभिन्न स्थानबाट पक्राउ परेका ती व्यक्तिहरूमाथि हुण्डी कारोबारको आशङ्का गरिएको छ।
पक्राउ पर्नेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगञ्ज महानगरपालिका–३ आदर्श टोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव, र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपककुमार सोनार रहेका छन्।

प्रहरीका अनुसार, वर्णवालको कालो झोलाबाट ९ लाख ४७ हजार रुपैयाँ बरामद गरिएको छ। श्रीवास्तवको झोलाबाट कृषि विकास बैंक, लिंकरोड परिसरमा १५ लाख ८१ हजार नगद फेला परेको हो। यस्तै, वीरगञ्ज–१६ रजतजयन्ती चोकमा ना. १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार सोनारबाट तीन लाख नगद बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



