
धनुषा । पैदल यात्रीको मृत्यु हुने गरी ठक्कर दिई फरार भएका कारसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति धनुषाको जनकनन्दनी गाउँपालिका–३ निवासी २९ वर्षीय कौशलकुमार शर्मा हुन्। उनी बा.प्र.–०१–००१ ञ २६५४ नम्बरको निसान जिप चलाइरहेका थिए। यही जिपले शुक्रबार राति ८ बजे मिथिला नगरपालिका–६, ढल्केबरस्थित जनकपुर–ढल्केबर सडकखण्डमा सिराहाको धनगढीमाई नगरपालिका–६ निवासी ५२ वर्षीय विन्देश्वर मोचीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका मोचीलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो।
उहाँका अनुसार घटनास्थल अँध्यारो र सुनसान रहेकाले चालक सवारीसहित भागेका थिए। घटना अनुसन्धानका क्रममा धनुषा, महोत्तरी र सर्लाही जिल्लाभरिका सिसी क्यामरा फुटेज संकलन तथा विश्लेषण गरिएको थियो।
त्यसको आधारमा रातो रङको निसान जिपले ठक्कर दिएको पुष्टि भएपछि खोजी तीव्र पारिएको थियो। सोही क्रममा जिप हंसपुर नगरपालिका–९ स्थित ढल्केबर–बालगङ्गा १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणाधीन भवनको कम्पाउण्डभित्र त्रिपालले छोपेर लुकाइएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो।
जिपको अगाडिको भागमा टुटफुट, बर्नटको भाग कुच्चिएको तथा कपडाको टुक्रा चेपिएको अवस्थामा फेला परेको थियो।
उक्त सवारी नेपाल विद्युत प्राधिकरण रत्नपार्कको नाममा दर्ता भएको प्रहरीले जनाएको छ। हाल चालकसहित सवारीसाधन नियन्त्रणमा लिइएको र घटनाबारे आवश्यक थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।



