विराटनगर – ट्राफिक प्रहरीमाथि गरेको अपमानजनक व्यवहार र अश्लील गालीगलौजका कारण कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी विवादमा तानिएका छन्। ओभरलोड ट्याक्टर चेकजाँच गरेको विषयमा उनले प्रहरीमाथि अश्लील शब्द प्रयोग गर्दै कुटपिट तथा ज्यान मार्ने धम्की दिएका हुन्।

घटना शुक्रबार दिउँसो सुनसरीको कोशी गाउँपालिका–२ स्थित कोशी कटान क्षेत्रको हो। पूर्वपश्चिम राजमार्ग सुरक्षार्थ खटिएको ट्राफिक प्रहरी युनिटले कागजातविना चलाइएको बास ओभरलोड ट्याक्टर नियन्त्रणमा लिएपछि अन्सारी स्वयं दलबलसहित आएर प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए। ‘ट्याक्टर मेरो हो’ भन्दै उनले प्रहरीमाथि घुस मागेको आरोप समेत लगाएका छन्।

घटनापछि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले तत्कालै प्रहरी नायब निरीक्षक कमलप्रसाद दाहालको नेतृत्वमा रहेको ९ सदस्यीय युनिटलाई फिर्ता बोलाएको छ। त्यसको सट्टा राजाराम यादव नेतृत्वको नयाँ टोली खटाइएको छ।

घटनाबारे सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रारम्भिक जानकारी दिँदै ट्राफिक प्रहरीमाथि उठाइएको आरोपको अनुसन्धानका लागि चार सदस्यीय समिति गठन गरिएको बताए। अनुसन्धान टोलीको संयोजक जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडा छन्।

कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीले पालिका अध्यक्ष अन्सारीको व्यवहार आपत्तिजनक भएको भन्दै घटनाको गम्भीर अनुसन्धान भइरहेको जानकारी दिए। उनले अध्यक्षको अभिव्यक्तिलाई “टिप्पणी गर्न लायक नभएको” भनी स्पष्ट पारे।

उक्त घटनासम्बन्धी भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसमा अन्सारीले “कोशीमा ट्राफिक प्रहरी चाहिँदैन, यहाँबाट गइहाल” भन्दै खुलेआम अश्लील भाषा प्रयोग गरिरहेको देखिन्छ। उनले कुटेर मार्ने धम्की समेत दिएको भिडियो सार्वजनिक भए पनि घटनापछि उनी सञ्चारमाध्यम र प्रशासनसँग सम्पर्कमा आएका छैनन्।

यस्तो अभद्र र गैरजिम्मेवार व्यवहारका बाबजुद प्रशासनले जनप्रतिनिधिमाथि कुनै स्पष्ट कारबाही नथालेको भन्दै आलोचना समेत सुरु भएको छ। अन्सारी नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय