महोत्तरी — प्रहरीले महोत्तरी जिल्लाको दुई फरक स्थानबाट करिब १५० किलो गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ रामगोपालपुर नगरपालिका–५ स्थित बर्दिवास–जलेश्वर सडक खण्डको चोकबाट दोलखा बैतेश्वर गाउँपालिका–६ निवासी २६ वर्षीय दीपक दाहालले चलाएको BAEC 8739 नम्बरको कारबाट १०९.९ किलो गाँजा बरामद गरिएको हो।

त्यसै राति बर्दिवास नगरपालिका–५ माइस्थान, गौशाला सडक खण्डमा बा ०१–०३० च ७८०५ नम्बरको सेतो EV गाडीबाट ४० किलो गाँजा सहित बर्दिवास नगरपालिका–११ का ३१ वर्षीय रंगलाल सेङ्गतान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टका अनुसार रामगोपालपुर चोकबाट बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो।

त्यस्तै, गौशाला सडक खण्डमा बरामद गरिएको गाँजा लागूऔषध नियन्त्रण ब्युरो बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त टोलीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।

प्रवक्ता भट्टका अनुसार यसअघि बुधवार पनि प्रहरीले २० किलो गाँजा बरामद गरेको थियो।

प्रहरीका अनुसार तस्कर तथा गाँजा व्यापारीहरूले विभिन्न स्थानबाट ल्याएको गाँजा नेपाल–भारत सीमाक्षेत्रसम्म पुर्‍याउने र त्यसपछि भरियाहरूको माध्यमबाट सीमापारी पठाउने गरेको पाइन्छ। केही महिना अघि महोत्तरीकै खयरमारा क्षेत्रमा डिभिजन वन कार्यालयको नेतृत्वमा बिघाँै क्षेत्रफलमा फैलिएको गाँजा फडानी गरिएको थियो।

लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले नियमित अपरेशन र निगरानी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय